काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकलाई पाँचतारे होटेल द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने भएको छ।

छुटसम्बन्धी विषयमा एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी भएको हो। समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन्। 

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि उपरोक्त दुई होटेलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो। बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २ हजार ३०० वटाभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ।