काठमाण्डौ । व्यवस्थापनकर्मीहरुको सम्मानित एवं सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर–२०२२’ बाट सम्मानित गरेको छ। 

राजधानीको याक एन्ड यती होटेलमा शनिबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा सीईओ न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘म्यानेजर अफ दि इयर–२०२२’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फेलो एनआईसी एसियन्सलाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरे। 

सीईओ न्यौपानेको ५ वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रु. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रु. २७४ अर्ब पुगेको छ। त्यस्तै निक्षेप संकलनतर्फ पनि रु. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रु. ३०० अर्ब पुगेको छ। 

यसका साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रु.४१.४३ पुगेको छ।

बैंकले न्यौपानेको नेतृत्वमा २०७८ पुस मसान्तसम्ममा देहायबमोजिमको उत्साहजनक नतिजाहरु हासिल गरी समग्र बैंकिङ क्षेत्रमै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ। 

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धिहरुमध्ये उपरोक्त उपलब्धीहरु ऐतिहासिक हुन्। उल्लेखित परिसूचकहरुमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहकहरुसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरुमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरुमा देशको सर्वोत्कृष्ट बैंकका रुपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ। 

यसका साथै समस्त ग्राहक, सेयरधनी एवं समस्त सरोकारवालाहरुका साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्वपुँजीमा प्रतिफललगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरुमा सर्वोत्कृष्ट स्थानमा कायम राख्नसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेका सीईओ न्यौपानेलाई प्राप्त यस ‘म्यानेजर अफ दि इयर–२०२२’ सम्मानले बैंकको सञ्चालक समिति, डीएनए ओभरसाइट कमिटीलगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको छ। यस पुनित अवसरमा सीईओ न्यौपानेलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाइ ज्ञापन गर्दै बैंकले नेपाल व्यवस्थापन संघप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ। 

न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सीईओ अफ दि इयर–२०७८’ र ग्लोबल बिजनेस आउटलुक (जीबीओ) लन्डनबाट ‘बैंकिङ सीईओ अफ दि इयर–नेपाल २०२१’ बाट समेत सम्मानित भएका थिए। 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।