काठमाण्डौ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ। 

यस नवीन सेवामार्फत अब ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन्। यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ। 

यस मेसिनबाट रु. १ र रु. ५०० दरका नोटहरुमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा दैनिक अधिकतम रु. ९९ हजार ५००सम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ। सहज एवं सरल बैंकिङलाई अँगाल्दै आएको एनआईसी एशिया बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले Cash Recycler मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने वा राख्ने बक्स खुल्नेछ। उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत ग्राहकले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ। 

बैंकले यो सेवा हालका लागि आफ्नो कर्पोरेट अफिस शाखा थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरुमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। यसका साथै यो Cash Recycler मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झैँ सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।