काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले म्युजिक नेपाल लिमिटेडलाई ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराउने भएको छ। 

आइडिया टु आईपीआअन्तर्गत म्युजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि एनआईसी एशिया क्यापिटल र म्युजिक नेपालबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्युजिक नेपालका तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन्। 

नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो। एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आइडिया टु आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ। 

मिति २०३९ साल साउन २४ गते स्थापना भई २०४० साल वैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्युजिक नेपालले नेपाली गीतसंगीतका एल्बमहरुको नियमित उत्पादन गर्न थालेको हो। म्युजिक नेपालले संगीत भनेको सोख र रहर पूरा गर्ने माध्यममात्र हो भन्ने आमधारणामा आमूल परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको श्रीगणेश गर्दै यस क्षेत्रमा यो नेपालकै जेठो निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो। 

नेपाली गीतसंगीत, कला र संस्कृतिको उत्थान गर्नुमा समर्पित रहँदै उच्च गुणस्तरीय गीतसंगीत, कला र संस्कृति नेपालीको घरघरमा र विश्वव्यापी रुपमा पुर्याउने कम्पनीको मुख्य उद्देश्य रहेको छ। विभिन्न सञ्चार तथा सांगीतिक संस्थाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्नु, बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी अधिकार (मूलतः प्रतिलिपिअधिकार ऐन) को सम्मान गर्नु र यसको महत्वका बारेमा प्रचारप्रसार गर्नु, संगीतको औपचारिक शिक्षालाई प्रवद्र्धन गर्नु, “स्रष्टाको संरक्षण गरौ राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मूल नाराजस्ता मूलभूत उद्देश्यहरुलाई अनुसरण र कार्यान्वयन गर्दै आइरहेको छ। 

निजीस्तरको पहिलो रेकर्डिङ स्टुडियोका रुपमा अत्याधुनिक टेपमेटिक डिजिटल लुपबिन प्लान्ट जडान गर्ने दक्षिण एसियाकै पहिलो यस कम्पनीले बहुर्राष्ट्रिय संगीत कम्पनीहरुबाट इजाजतपत्र प्राप्त गरी गीत प्रसारण गर्ने पहिलो नेपाली सांगीतिक कम्पनी हुने सौभाग्य पनि प्राप्त गरेको छ। विश्व प्रसिद्ध जापानी टेलिभिजन संस्था एनएचकेको एसियाज हु इज हु मा प्रस्तुत हुने पहिलो दक्षिण एसियाली सांगीतिक संस्था म्यूजिक नेपाल अन्तरर्राष्ट्रिय गोल्ड स्टार सम्मानद्वारा सम्मानित हुने दक्षिण एसियाकै प्रथम सांगीतिक संस्था पनि हो। 

शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी सङ्गीतको औपचारिक शिक्षाको लागि नेपाल संगीत विद्यालयको स्थापना गर्ने शौभाग्य पनि यसै कम्पनीले पाएको छ। प्रविधि अनुकूल आफुलाई परिवर्तन गर्दै आएको यस संस्थाले पछिल्लो समय विकसित भएको डिजिटल तथा मोवाइल फोनको अनलाइन प्रविधिमा पनि आफुलाई अब्बल बनाउन सफल भएको छ। विभिन्न म्युजिक कम्पनी तथा स्रष्टा कलाकारहरुसँगको सहकार्यसमेत रहेको यस कम्पनी मूख्य डिजिटल प्लेटफर्मको रुपमा समेत कार्यरत रहेको छ। 

सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल भएको यस कम्पनीले अडियो, भिडियो तथा नेपाली चलचित्रहरु स्ट्रिमिङ गर्न मिल्ने मोमो एप पनि सञ्चालन गरिरहेको छ। 

नेपाली गीतसंगीत तथा भिडियोजन्य सामग्री र नेपाली चलचित्रलाई निरन्तर रुपमा विश्व बजारमा पुर्याउन यस कम्पनी क्रियासिल रहिरहेको छ।

यसका साथै क्यापिटलको आइडिया टु आईपीओ सेवासम्बन्धी थप जानकारीका लागि मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा ई–मेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्र्पक गर्न सकिने क्यापिटलले जनाएको छ।