काठमाण्डौ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरेको छ ।

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत ग्राहकमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले सोमबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो ।

उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।

गत कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम कम्पनीले बताएको छ ।

साथै कम्पनीले विनासकारी भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

कम्पनीले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।