काठमाण्डौ । नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को सञ्चालक समिति सदस्यमा बैंकर अमित श्रेष्ठ चयन भएका छन् । 

भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसीएफसी फाइनान्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई सञ्चालक पदमा चयनको निर्णय गरेको हो । 

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाजप्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि सो पद रिक्त थियो । 
नवनियुक्त सञ्चालक अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव रहेको छ । 

नेपाल राष्ट्रबैंक र बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंक तर्फबाट तीनजना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एकजना गरी जम्मा सात जनाको प्रतिनिधित्व रहने व्यवस्था रहेको छ । 

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।