काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ।

एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ। मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीयहरु पहिले नै लाभान्वित भइरहेका छन्। यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो।

एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरुले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, ‘हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरुसँग उपभोक्ताहरुलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ। सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौँ। हामीले फोरजीलाई उच्च प्राथमिकतामा राखेका छौं किनभने यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ।’

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम ग्राहकहरुलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो। गत आर्थिक वर्ष २०७९–८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो। त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झन्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ।

फोरजी प्रविधिअन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्छन्।

ग्राहकहरुलाई फोरजीअन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्यान्ड र भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरि एनसेलको ४ हजारभन्दा बढी फोरजी टावरहरु सञ्चालनमा रहेका छन्। फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरु पूरा गर्न योगदान पुर्याउँछ।

एनसेलका बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरुलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८–७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। 

एनसेल आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।