काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए। दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरुले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन्।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाइँकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग हो र यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए। ‘स्थानीय बासिन्दा र हाम्रा ग्राहकसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौँ। रक्तदान एउटा निःस्वार्थ कार्य हो। यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ। यो हामी सधैँ नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो।’

एनसेलले ‘हामी तपाइँकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवका अवसरमा अन्य विभिन्न कार्यक्रमको पनि घोषणा गरिसकेको छ। त्यस्ता कार्यक्रममा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरुलाई सहयोग, बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षरोपणलगायतका कार्यक्रमहरु रहेका छन्। 

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ।

एनसेलका बारेमा 

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ। 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ। 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८–७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। 

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाका साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।