काठमाण्डौ । एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जितेका छन् ।

कम्पनीले शुक्रबार र शनिबार गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरेको गल्फ प्रतियोगितमा १४३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भए । प्रतियोगिताको पुरस्कारबापत उनले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जिते ।

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदीप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनरअप भए । केसीले पुरस्कार ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् ।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि सद्भाव आचार्यले जिते । उनले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रफीसँगै सामसङको ग्याल्याक्सी जेड फ्लिप पुरस्कार प्राप्त गरे ।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भइन् । उनले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरिन् भने गीता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्ट बनाएर रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्षभन्दा माथि) विजयी भएका छन् ।

त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टु द पीनको उपाधि ज्ञानबाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए ।

प्रतियोगिता ३/४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेन सहित अन्य अतिथिले विजयीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘यस प्रतियोगितालाई हामीले हाम्रा गल्फप्रेमी ग्राहकहरूलाई एक अनुपम अनुभव प्रदान गर्न सक्षम भएका छौं भन्ने प्रमाणका रूपमा हेरेका छौं । यो केवल एक प्रतियोगिता मात्र नभई सम्बन्ध स्थापित गर्ने, मित्रता गाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्ध बनाउने कार्यक्रम पनि हो ।’

यस प्रतियोगिताबाट २ लाख ८६ हजार संकलन भएको कम्पनीले बताएको छ। संकलित रकममा कम्पनीले थपेर हालै कर्णाली प्रदेशमा गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग गरिने बताइएको  छ।