काठमाण्डौ । एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन्स डेको अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीले एक्सचेन्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्यांकन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ। 

काठमाण्डौको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका मोबाइल एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ। एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याडलगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ।

यो अफरमा मोबाइल एक्सचेन्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए। उनले भने, ‘जोडीले नै दुईवटा मोबाइल खरिद वा एक्सचेन्ज गर्दा मोबाइलको मूल्यअनुसार स्पिकर, हेडफोन, इयर पडलगायतका उपहारहरु निःशुल्क पाउनेछन्।’

मल्लका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ। एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाचसमेत उपलब्ध हुने उनले जानकारी दिए। 

मल्लका अनुसार एकैपटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने छन्। 

यसका साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टु फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए। सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुकसमेत सेवाग्राहीको अगाडि नै मर्मत हुने उनले बताए।