काठमाण्डौ । फुटबल क्लब एफसी चितवनले आगामी आइतबार बिहान साढे ११ बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रुकी हन्ट (ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको  छ।

आउँदो अप्रिल ८ तारिकबाट सुरु हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउन्डको महत्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

चितवन फुटबल संघको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीले भाग लिन पाउनेछन्। खेलाडीहरु कुनै पनि राष्ट्रियस्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ। यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिस्पर्धामा खेल्न पाउनेछन्। 

एफसी चितवन 

एफसी चितवन आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिको एक फुटबल क्लब हो। खेलकुदका क्षेत्रमा युवापुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरुलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो। 

अन्तर्राष्ट्रियस्तरमा अभ्यास हुँदै आएको भए पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र सुरु हो। प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरुको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिस्पर्धात्मक एवं रोमान्चकारी हुने देखिएको छ।