काठमाण्डौ । संसारको अग्रपंक्तिको बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ) ले दक्षिण एसियामा उपस्थिति सुदृढ गर्दै आज नेपालमा आफ्नो ग्लोबल ब्रान्ड ‘बड्वाइजर’ को बिक्री सुरु गर्ने घोषणा गरेको छ। 

संसारका १५० भन्दा बढी देशमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वादको अब नेपाली उपभोक्ताले समेत मज्जा लिन पाउने भएका छन्। बड्वाइजरको लन्चसँगै एबि इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ। 

एबि इन्बेभले जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज बु्रअरी प्रालिसँग एक विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ।

बड्वाइजरको नेपालमा सुरुआतका क्रममा एबि इन्बेभ– भारत र दक्षिण पूर्वएसियाका अध्यक्ष कार्तिकेय शर्माले भने, ‘हामी नेपालमा हाम्रा उपभोक्ताका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्रान्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौँ। बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ। नेपालको प्रतिष्ठित ब्रुअरी राज ब्रुअरीसँगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछ।”

बड्वाइजरको सुरुआत सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो। आज पनि बड्वाइजर १४० वर्ष को ब्रुइङ प्रक्रियाका माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ। उत्तम सन्तुलन र स्वादका लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ। बड्वाइजर प्राकृतिक कार्बोनेसन, बिचवुड एजिङ र लामो समयसम्म ब्रु (प्रशोधन) गरी तयार गरिएको हुन्छ। जसले अतुलनीय सन्तुलन र स्वाद बनाइराख्दछ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, “राज ब्रुअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनोट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो। यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्टमध्येको एउटा ब्रुअरी रहेर पनि हो।”

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले भने, ‘हामी विश्वको  सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्राएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज नेपाली उपभोक्तालाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ।”

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायम गर्दै युवा ग्राहकको नवीनतम तथा गुणस्तरीय पेय पदार्थहरुप्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक ब्रुअरीबाट उत्पादन गर्दै आएको छ। यस ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्रान्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आइरहेको छ। जसले नेपाली बियर अनुयायी माझ राम्रै सफलता हासिल गर्न सफल भएको छ।