काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ। 

यही क्रममा बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रमबीच मानव सेवा आश्रम गोरखालाई रु. ५ लाख आर्थिक सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सीईओ खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा अतिकमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने उल्लेख गरे। 

यसका साथै यस्ता निःस्वार्थ भावनाले मनै छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थाहरुसंग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता पनि सीईओ खालिङले व्यक्त गरे। 

यसका साथै आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने उल्लेख गर्नुका साथै बैंकप्रति कृतज्ञतासमेत प्रकट गरे। 

कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दीप खत्री र आश्रमका संयोजक ईश्वरकाजी मास्केको समेत उपस्थिति थियो। 

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।