काठमाण्डौ । लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) ले दुईदिने सञ्चालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

गत फागुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा सञ्चालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो। तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना सञ्चालकका लागि नेपाल राष्ट्र बैँक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ, पूर्वसचिव तथा लघुवित्तविज्ञ डा मानबहादुर बीके, राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा, राष्ट्र बैंकका निर्देशक डा शालिकराम पोखरेल र राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीले प्रशिक्षण दिएका थिए। 

तालिम कार्यक्रममा प्रशिक्षणसहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो। लघुवित्तमा देखिएको तरलताको अभाव, नीतिनिययको समस्या, ब्याजदरमा देखिएको समस्यालगायत बिषयमा अध्यक्ष तथा सञ्चालकहरुले राखेका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दे कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि राष्ट्र बैंक र सरकारको विषेष फोरममा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे। 

अर्का कार्यकारी निर्देशक डा श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थामा प्रशिक्षणसहित सहभागीसँग अन्तरक्रिया गरेका थिए। 

लघुवित्तविज्ञ डा बीकेले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका विषयमा आफ्ना तर्कहरु राख्दै त्यसको समाधानका उपायहरुका विषयमा सहभागीसँग अन्तरक्रिया गरेका थिए।