काठमाण्डौ । प्रदेश नम्बर १ का कतिपय एमाले किल्लामा कांग्रेसले सुरुवाती धावा बोलेको छ । सुरुवाती अग्रता समेत अनपेक्षित आएपछि आफ्नै किल्लामा एमाले तनावमा छ भने कांग्रेस जित्ने उत्कट अपेक्षा सहित उत्साहित देखिएको छ ।
प्रदेश नम्बर १ का स्थानीय तहमध्ये इटहरी र धरान उपमहानगरपालिका वर्षौदेखि एमालेको पडक क्षेत्रको रुपमा परिचित हुँदै आएका क्षेत्र हुन् । केही अगाडि साबिकको नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति भएका यी दुुई क्षेत्रमा आम अपेक्षाविपरीत सुरुवाती परिणाम सार्वजनिक भएको छ ।
इटहरीमा कांग्रेसका मेयरका उम्मेद्वार रोहित प्रसाईंले २ सय ७७ मतसहित अग्रता लिएका छन् । एमालेका द्वारिकलाल चौधरीले २ सय ४३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसले ३ सय ४ मत र एमालेले २ सय ४३ मत पाएका छन् ।
प्रारम्भिक चरणमा इटहरी र धरानमै एमालेलाई कांग्रेसले उछिनेको छ । यो संकेतले कतै कांग्रेसले यसपटक एमालेको किल्ला त तोड्ने होइन ? भन्ने आशंका समेत जन्माइदिएको छ । यो एउटा आशंका मात्र हो, अत्यन्त सुरुवाती चरणमा रहेकोले अहिलेको मत खसाई नै अन्तिमसम्म रहला भन्न सकिन्न । अहिले नै अन्तिम निश्कर्ष निकालिहाल्नुु पनि मूर्खता हुनेछ ।
पछिल्लो मतपरिणामका कारण इटहरी उपमहानगरपालिका अहिले चर्चामा छ । यो क्षेत्रमा कांग्रेस एमालेको वर्षौदेखिको लालकिल्ला भत्काउने योजनाका साथ चुनावीमा मैदानमा थियो । प्रारम्भिक मतपरिणाम समेत त्यस्तै देखिएको छ । इटहरीको मतगणना वडानम्बर १ र २० बाट सुरु गरिएको छ । २० नम्बर वडा कांग्रेसको पकड क्षेत्र हो । एमालेले आफ्नो किल्ला ठानेको १ नम्बरको परिणाम समेत कांग्रेसको पक्षमा देखिएको छ । एमालेका एक नेताका अनुसार पार्टीभित्रको आन्तरिक कलहका कारण २० नम्बर वडा गुुम्नसक्ने पहिलादेखिकै विश्लेषण हो, तर १ नम्बर वडामा अन्तिम समयसम्म आफूहरुकै जित हुने उनको दाबी छ । ‘इटहरीका २०मध्ये हामी ६ वटा वडामा मात्र हार्नसक्छौ, दुर्घटना नै भयो भने पनि बढीमा ८ वडा मात्र हामीबाट गुुम्नेछ ।’ एमाले निकट एक विश्लेषकले भने–‘हामी १२ वडामा शानदार जित हासिल गर्छौ ।’
तर, कांग्रेसका स्थानीय नेताले भने सुरुवाती अग्रता अन्तिमसम्म कायम हुने दाबी गरेका छन् । ‘इटहरीबासीले नयाँ टेस्ट खोजेका छन् ।’ कांग्रेसका एक नेताले भने–‘इटहरीमा कसैले नसोचेको परिणाम आउँदैछ ।’
उता, धरान उपमहानगरपालिकामा समेत कांग्रेसले सुरुवाती अग्रता लिएको छ । यो ठाउँ समेत विगत लामो समयदेखि एमालेले जित्दै आएको क्षेत्र हो । यहाँ कांग्रेसका मेयर र उपमेयरका उम्मेद्वारले समान २८ मत ल्याउँदा एमालेका मेयरका उम्मेद्वारले १० र उपमेयरले ११ मत ल्याएका छन् । तर, धरान उपमहानगरको मत पनि वडानम्बर १ बाटै गन्न थालिएको छ । वडानम्बर १ कांग्रेसको पकड क्षेत्र हो । यही कारण कांग्रेसको सुरुवाती अग्रतालाई एमालेले स्वभाविक ठानेको छ । ‘धरानमा हामी सहज रुपमा जित्नेछौ ।’–एक एमाले नेताले भने । तर, कांग्रेसले भने यसपटक धरानमा समेत विजयी झण्डा फहराउने दाबी गरेको छ । ‘यसपालि धरानमा हामी नयाँ इतिहास रच्दैछौ ।’–कांग्रेसका एक नेताले भनेका छन् ।
एमालेको राम्रो प्रभाव क्षेत्रको रुपमा रहेका मोरंगको बेलबारी र केराबारी नगरपालिकामा समेत कांग्रेसले अग्रता लिएको छ ।
एमालेकै प्रभाव क्षेत्रको रुपमा चिनिएको बुटवल उपमहानगरपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । यो क्षेत्रमा कांग्रेसले मेयरमा ७ सय ११ मत ल्याएको छ भने उसलाई एमालेले ४ सय ६४ मतले पछ्याइरहेको छ । उपमेयरमा एमालेले ५ सय २८ मत ल्याएको छ भने माओवादीले ४ सय ९५ मतले पछ्याइरहेको छ । तर, यहाँ पनि कांग्रेसको पकड क्षेत्रबाट मतगणना सुरु भएकोले सुरुवाती अग्रता उसकै देखिएको एमाले दाबी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago