काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजना गरिएको आउट वाउन्ड ट्राभल मार्ट (ओटीएम) मा सहभागिता जनाएको छ। 

फागुन ३० देखि चैत २ गते (१२–१६ मार्च २०२२) सम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसँग सम्बन्धित निजी संस्थाहरूको सहभागिता रहको थियो। सो मार्टमा नेपाल सहित मार्टमा २० देशबाट ६०० भन्दा बढी प्रदर्शक तथा भारतको २९ भन्दा बढी राज्य र सात विभिन्न क्षेत्रबाट पर्यटन व्यवसायीहरुको  सहभागिता थियो।
कार्यक्रममा माल्दिप्सका पर्यटनमन्त्री अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटन मन्त्रि डा.एम.माथिभेन्थन, माल्दिप्सको पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेशनका प्रबन्ध निर्देशक तोयिब मोहम्मदलगायत विभिन्न देशका सरकारी तथा निजी क्षेत्रका अधिकारीहरुले नेपाली प्याभिलियनको निरीक्षणसमेत गरेका थिए। उनीहरुले कोभिडपछिको नेपालको पर्यटनका अवस्था र भइरहेका क्रियाकपालबारेमा जिज्ञासा राखेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए। 

यस्तै नेपाल प्याभिलियन भ्रमण गर्ने अन्य सहभागीहरुबाट आएका जिज्ञासासहित नेपालले कोभिडपछि नेपाल करिब पूर्ण रुपमा खुला भइसकेको, नेपाल, भारत तथा अन्य देशहरुबाट समेत नियमित उडानहरु सुरु भएको र नेपाल पर्यटनको नियमित गन्तव्यबाहेक वेडिङ डेस्टिनेसन, फिल्म छायाँकन तथा अन्य माइस पर्यटनका लागि उत्कृष्ट गन्त्तव्य रहेको सो अवसरमा जानकारी गराइएको थियो। 

भारत नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजार रहनुका साथै स्थलमार्ग तथा हवाई मार्गबाट नेपाल भ्रमणका लागि थप सहजता बन्दै गएको उक्त अवसरमा जानकारी गराइएको थियो। 

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतका विविभन्न सहरहरुमा सीधा उडान सुरु गरेको सन्र्दभमा नेपाल–भारतबीचको पर्यटन प्रवर्द्धनमा थप सहजता थपिने विश्वास गरिएको छ। 

कार्यक्रममा नेपाल पर्यटन बोर्डलाई डिजाइन एन्ड डेकोरेसन अवार्ड प्रदान गरिएको थियो।