काठमाण्डौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार केही महिना अझै टिक्ने निश्चित भएको छ । आइतबार प्रचण्ड र ओलीबीच भएको वान टु वान गोप्य वार्ताको क्रममा यस्तो सहमति भएको रहस्य खुलेको छ । ओली निकट स्रोतका अनुसार भारतले केही समयअघि ओली सरकार गिराउन थालेको प्रयासलाई निस्तेज पार्ने क्रममा चिनिया अधिकारीहरुको दवाब र साथ पाई प्रचण्डले कांग्रेसलाई दिने  समर्थन स्थगन गरी ओली सरकारलाई नै समर्थन निरन्तर गर्न तयार भएका थिए । सो क्रममा चिनियाँ दवाबका साथमा ओलीसँग भएको एउटा सहमतिले समेत काम गरेको थियो । त्यो थियो बजेट भाषणपछि ओलीको नेतृत्व परिवर्तन गर्ने र सरकारको नेतृत्व प्रचण्डले गर्ने । बजेट वक्तव्य लगत्तै प्रचण्ड र उनी निकटका नेताहरुले सरकार परिवर्तनको हल्ला चलाए पनि अन्ततः अझै केही महिना ओलीले नै सत्ताको रथ हाँक्ने टुंगो लागेको हो । 

स्रोतका अनुसार आफूलाई भेट्न आएका प्रचण्डसँग ओलीले निकै लामो कुराकानी गरेका थिए । सो क्रममा आफू केही महिनापछि प्रचण्डलाई सरकारको नेतृत्व दिन तयार रहेको ओलीले स्पष्ट पारेका थिए । ‘अहिले भारतसँग मलाई लड्न दिनुहोस्, यसमा तपाईंको साथ चाहिन्छ ।’ ओलीले प्रचण्डलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘कम्तीमा मेरो नेतृत्वमा आएको बजेट संसदबाट पास हुन दिनुहोस्, त्यसपछि नेतृत्व हस्तान्तरणको बिषयमा म सकारात्मक ढंगले सोच्नेछु ।’ नेपालको आयात निर्यात तथा पारवहनमा भारतको एकाधिकारलाई तोड्ने उद्देश्यसहित सरकारले ल्याएको बजेट पास गरी कार्यान्वयनको चरण सुरु भए त्यसबाट भारतलाई राम्रै झड्का लाग्ने ओलीको बुझाई छ । ओली त्यही दिनको प्रतिक्षामा छन् । 

ओलीले प्रष्ट कुरा राखेपछि प्रचण्ड समेत त्यसमा कन्भिन्स भएका छन् । यसको अर्थ, संसदमा भइरहेको बजेट सम्बन्धी दाफावार छलफल करिब साउन अन्तिमसम्म हुने र त्यसपछि ओली सरकार परिवर्तनका प्रक्रिया सुरु हुनसक्ने स्रोतहरुको भनाई छ । ‘प्रचण्डसँग भएको सहमतिमा इमानदार भए भदौंबाट ओलीले सरकारको नेतृत्व छाड्नेछन् र प्रचण्ड प्रधानमन्त्रीको रुपमा आउनेछन् ।’ स्रोतले भन्यो–‘प्रचण्ड र ओलीबीचको नयाँ सहमतिले ओली सरकारलाई जुनसुकै संयन्त्र प्रयोग गरेर भए पनि गिराइछाड्ने प्रतिबद्धतासहित सक्रिय देशी विदेशी तत्वहरु फेरि एकपटक जिल्लिएका छन् ।’ 

गृह र आपूर्तिमन्त्री आउट !
यसैबीच, ओली र प्रचण्डबीच तत्काल सरकार पुनर्गठन गर्ने बिषयमा समेत सहमति बनेको छ । सहमति अनुसार ओलीकै अनुरोधमा गृहमन्त्री शक्ति बस्नेत र आपूर्तिमन्त्री गणेशबहादुर पुनलाई आउट गर्न प्रचण्ड तयार देखिएका छन् । ‘अब एकदुई दिनमै ओली नेतृत्वको मन्त्रीपरिषद पुनर्गठन हुन्छ ।’ स्रोतले भन्यो–‘माओवादीबाट मन्त्री खाइरहेका गृहमन्त्री र आपूर्ति मन्त्रीमा बस्नेत र पुन आउट भई नयाँ अनुहार आउनेछन् ।’ माओवादी केन्द्रले नयाँ दुई मन्त्रीको रुपमा कस कसलाई पठाउने भन्ने बिषयमा आन्तरिक छलफल चलाइरहेको समेत स्रोतले बताएको छ । पछिल्लो समय ओली र स्वयम् माओवादी अध्यक्ष प्रचण्ड समेत गृहमन्त्री बस्नेत र आपूर्तिमन्त्री पुनको कामप्रति सन्तुष्ट छैनन् । माओवादी मन्त्री आउट गर्ने बाहानामा एमालेका केही मन्त्री समेत फालिन सक्ने र नयाँ अनुहार आउनसक्ने संभावना रहेको स्रोतले दाबी गरेको छ ।