काठमाण्डौ । कमजोर नेतृत्वका कारण पछिल्लो समय संकटमा फस्दै गएको उद्योग वाणिज्य महासंघ सांगठनिक रुपमा समेत थप कमजोर हुने भएको छ । 

उद्योग वाणिज्य महासंघमा पछिल्लोकाल केही निश्चित समूहको मनोमानी चलेसँगै असन्तुष्टहरुले समानान्तर  संगठन  बिस्तारमा ध्यान दिएपछि निजी क्षेत्रको छाता संगठन मानिएको यो संस्था धराशायी बनेको हो । 

नाममा निजी क्षेत्रको छाता संगठन भनिए पनि पछिल्लो कालको भूमिका एउटा क्लब जस्तो बनेपछि र निजी क्षेत्रका समस्याको बिषयमा प्रभावकारी भूमिका नखेलेपछि पछिल्लो समयको कमजोर नेतृत्वको सर्वत्र आलोचना भइरहेको बेला एकपछि अर्को गर्दै काउण्टर दिने संस्थाहरु हरेक प्रदेश र जिल्लासम्म बिस्तार हुने थालेका हुन् ।

महासंघको नेतृत्व मुठ्ठीभरका उद्योगी व्यवसायीको इशारामा चल्न थालेपछि सुधारको प्रयास गर्दा–गर्दा दिक्क भएका प्रतिष्ठित उद्योगीहरुको सुझावका आधारमा नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले आफूलाई देशव्यापी बनाउने गरी गरेको  विधान संसोधनको प्रस्ताव मन्त्रीपरिषदबाटै पारित भएर कार्यान्वयनमा  आइसकेको छ । 

उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले राष्ट्रिय वाणिज्य बैंकको कालोसूचिमा परेका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई प्रमुख सल्लाहकार मानेर उनकै इशारामा काम गर्न थालेपछि यसले संगठनलाई कमजोर बनाइदिएको हो । 

कालोसूचिमा परेका ढकालले महासंघलाई आफ्नो क्लब बनाइदिएपछि रुष्ट उद्योगी व्यवसायी नेपाल चेम्बर अफ कमर्सलाई बलियो संगठन बनाउनेतिर लागेका छन् । चेम्बर अफ कमर्सले आफ्नो पुरानो संगठनात्मक संरचनामा  परिवर्तन गरी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई मानार्थ उपाध्यक्ष तथा  जिल्ला नगर संघका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई प्रदेश संयोजकको जिम्मेवारी दिएर नयाँ संरचना तयार गरेको कुरा सार्वजनिक भएसँगै यसले निजी क्षेत्रको छाता संगठन मानिएको महासंघभित्र भूकम्प ल्याइदिएको छ । यस्तै, चेम्बरलाई महासंघका  अधिकांश पूर्व अध्यक्षहरुको साथ रहेको सूइँको  पाएपछि नेतृत्व बढी नै अत्तालिएको छ । 

पछिल्लो समय उद्योग वाणिज्य महासंघलाई उद्योगीहरुको र चेम्बर अफ कमर्सलाई व्यापारीहरुको संगठन बनाउन खोजिएको देखिन्छ । यसको अर्थ जिल्ला जिल्लामा उद्योग वाणिज्य महासंघमा आबद्धहरु चेम्बर अफ कमर्समा लाग्न थालेपछि यसले महासंघले मान्छे नै  नपाउने संकट भोग्नुपर्ने अवस्था समेत नआउला भन्न सकिन्न । सायद यही डरका कारण मन्त्रीपरिषदको स्वीकृति लिएर अगाडि बढेको आफूभन्दा १२ वर्ष जेठो संस्था चेम्बर अफ कमर्सलाई महासंघले स्पष्टीकरण सोधेको छ, जसमा कुनै दम देखिदैन । 

चेम्बरले प्रक्रिया पुर्याएर संगठन सुधारको प्रयास थालेसँगै महासंघको नेतृत्वले स्पष्टीकरण सोध्ने हतारो गर्नु, अदालतसम्म जाने चेतावनी दिनुजस्तो गतिविधिले समेत नेतृत्वमा रहनेहरु कतिसम्म अत्तालिएका छन् भन्ने देखिने चेम्बरका एक अधिकारीले बताए । ‘महासंघलाई  क्लब बनाएकाहरु अत्तालिएका छन्, जिल्ला जिल्लाका साथीहरु भ्रष्ट ढकाल र उनका आसेपासेको क्लब बन्न थालेपछि अन्य वैकल्पिक संगठनको  खोजीमा रहेको बेला हामी आएका छौ ।’ चेम्बरका ती अधिकारीले भने–‘महासंघको नाममा लुट मच्चाउने, महासंघको नेतृत्वको आडमा जनताको पैसा पच बनाउनेहरु अब पाखा लाग्नुपर्छ ।’ 

नैतिकताको धरातल कमजोर बनिसकेका ब्ल्याकलिस्टेड चण्डी ढकाललाई गुरु मानेर दैनिक कार्य समेत संचालन हुन थालेपछि यसले उद्योगी व्यवसायीमा निराशा पैदा गरिदिएको  छ भने त्यसको प्रतिक्रियाको रुपमा उनीहरुले एनसीसी र सिएनआईलाई अभूतपूर्व साथ दिने अवस्था देखिएको छ । 

यसरी हेर्दा महासंघ र चेम्बरका अधिकारीबीच शितयुद्ध सुरु भइसकेको सहजै बुझिन्छ । भन्सार दिवसको अवसरमा चेम्बरले मन्त्री र सचिवलाई उपस्थित गराएर कार्यक्रम गरिदिएपछि र महासंघले चाहि सहसचिवलाई  मात्र उपस्थित गराउन सकेपछि यसले जिल्ला–जिल्लामा महासंघ कमजोर बनिसकेको सन्देश प्रवाह भएको कतिपयको दाबी छ । महासंघकी अध्यक्ष भवानी राणा र उनले बनाएको किचन क्याबिनेटको कमजोर प्रस्तुतीले समेत यही कुरा देखिन्छ । नैतिकताको धरातल कमजोर बनिसकेका ढकाललाई गुरु मानेर दैनिक कार्य समेत संचालन हुन थालेपछि यसले भविष्यमा अन्य  व्यवसायी र उद्योगीलाई समेत रुष्ट पार्ने प्रष्ट देखिन्छ । 

परिसंघको अर्को काउण्टर 
उद्योग वाणिज्य महासंघका कतिपय अधिकारीको मनोमानीविरुद्ध विद्रोह गरेर कुनै बेला उद्योगपति विनोद चौधरीले छुट्टै संगठनको रुपमा नेपाल उद्योग परिसंघ(सिएनआई) गठन गरेका थिए । उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघबीच लामो समयसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको थियो । सो सम्बन्धमा हरिभक्त शर्माले गत वर्ष मात्रै आइसबे्रक गरी महासंघकी अध्यक्ष राणालाई आफ्नो कार्यक्रममा  बोलाएर सहकार्यको थालनी गरेका थिए । 

पछिल्लो समय उद्योगी व्यवसायीको समस्याको बिषयमा तार्किक र परिणामुखी प्रयास समयमै अगाडि बढाउने भूमिकामा उद्योग परिसंघ खरो उत्रिदै आएको छ । राष्ट्रिय अन्तराष्ट्रिय एजेन्सीहरुसँगको पहुँच, कर्मचारीतन्त्र तथा राजनीतिक दलका नेताहरुसँगको पहुँच र सत्तासीनहरुसँगको पहुँचमा समेत महासंघ भन्दा परिसंघ निकै अगाडि देखिँदै आएको छ । परिसंघको प्रभावकारी भूमिकाकै कारण महासंघ किन चाहियो ? भन्ने अवस्था समेत पछिल्लो कालमा सिर्जना भएको उद्योगीहरु बताउँछन् । 

‘निजी क्षेत्रलाई परेको बिषयमा बोल्ने र समस्या समाधानका लागि पहल गर्ने बिषयमा महासंघको नेतृत्व पशुपति मुरारकाको पालादेखि नै कमजोर देखिदै आएको छ ।’ एक वरिष्ठ उद्योगीले भने–‘विधान संसोधन गरेर भवानी राणालाई ढकाल लगायतले अध्यक्ष बनाएपछि त महासंघ एउटा क्लबमा रुपान्तरण हुन पुगेको छ ।’ 

कमजोर बनेको महासंघलाई चेम्बरले काउण्टर दिएर तनाव थपिदिएको बेला नेपाल उद्योग परिसंघले समेत अर्को काउण्टर दिने गरी मन्त्रीपरिषदबाट प्रादेशिक रुपको सांगठनिक संरचना अनुसार अघि बढ्नका लागि स्वीकृति पाएको छ । यसको अर्थ जिल्ला तथा नगरका उद्योगी व्यवसायीले अब संगठनमा आबद्धताका लागि उद्योग वाणिज्य महासंघको विकल्पको रुपमा चेम्बर अफ कमर्स र उद्योग परिसंघलाई पाएका छन् । परिसंघले समेत प्रदेश संयोजकहरु तोक्दै उद्योग वाणिज्य महासंघमा क्रियाशील कतिपयलाई आफ्नो संगठनमा तानिदिएपछि अब यसले महासंघको कमजोर नेतृत्वमाथि चुनौति थपिदिएको छ । 

चण्डी ढकाल ग्रुप एण्ड कम्पनीको पेवाजस्तो भएको महासंघको कार्यशैलीप्रति पछिल्लो समय जिल्ला जिल्लामा निकै असन्तुष्टि बढिरहेको केही उद्योगीहरु दाबी गर्छन् । महासंघले जिल्ला संघहरुलाई आफ्ना शाखालाई जस्तो निर्देशन दिने गरेको भन्दै कतिपयले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । महासंघमा आबद्ध जिल्ला संघहरु उसको शाखा नभई स्वायत्त संगठनको  रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संगठन हुन् । महासंघको पछिल्लो नेतृत्वले यो कुरा समेत नबुझेपछि जिल्ला जिल्लामा देखिएको व्यापक असन्तुष्टिलाई एनसीसी र सिएनआईले सहजै क्यास गर्न सक्ने देखिन्छ । यसले महासंघलाई भविष्यमा अझ ठूलो घाटा हुनेछ ।

यस्तो बन्यो परिसंघको संरचना

नेपालउद्योग परिसंघको १४ वार्षिक साधारणसभाबाट पारित संशोधित विधान नेपाल सरकारबाट स्वीकृत भएको हो । 

सो संशोधित विधान स्वीकृत भएसँगै देशको सातवटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय परिसंघको गभर्निङ्ग काउन्सिल र राष्ट्रिय परिषदको बैठकले गरेको छ । 

यसबाट नेपालको औद्योगिक विकास र उत्पादन वृद्धि गर्ने, निर्यात प्रवद्र्धन गर्ने, उद्यमशिलताको विकास गर्ने र कुल ग्राहस्थ उत्पादनमा आद्यौगिक क्षेत्रको अंश बढाउने दिशामा नेपाल उद्योग परिसंघका कार्यक्रमहरु कार्यान्वयन गर्न सहयोग पुग्ने धारणासहित उक्त बैठकले परिसंघको संशोधित विधानको व्यवस्थाअनुसार परिसंघको रिक्त एक उपाध्यक्ष र दश राष्ट्रिय परिषदको सदस्यहरुमा विभिन्न उद्योगीव्यवसायीलाई मनोनयन गर्ने समेत निर्णय गरेको छ ।

नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र राष्ट्रिय परिषदका बैठकमा भएको निर्णयअनुसार उपाध्यक्ष पदमा सुलभ अग्रवाल मनोनीत भएका छन् ।

यसैगरी राष्ट्रिय परिषदको सदस्यहरुमा विभिन्न उद्योगी व्यवसायीलाई मनोनयन गर्ने समेत निर्णय गरेको छ ।

महिला उद्यमीहरुमध्येबाट छाया  शर्मा र रिता भण्डारी मनोनीत भएका  छन् । यस्तै, विभिन्न उद्योगी व्यवसायीको तर्फबाट आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का, रविन्द्रभक्त श्रेष्ठ, ऋषि घिमिरे, शरद तिवरेवाला, शिशिर भट्ट र सुधीर मित्तल मनोनीत भएका छन् ।

साथै, सो बैठकले “प्रदेश परिसंघ”को गठन सातवटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ । यसरी प्रदेश संयोजकमा मनोनयन हुनेहरुमा प्रदेश १ का लागि मीनप्रकाश मैनाली (झापा), प्रदेश २ का लागि नरेश दास(जनकपुर), प्रदेश  ३  का लागि ऋषि घिमिरे(हेटौडा), (३) तीनकालागिऋिषी घिमिरे (हेटौडा), प्रदेश ४ का लागि विनोद न्यौपाने(पोखरा), ५  का लागि एजाज आलम(बुटवल), ६ का लागि टेकबहादुर भण्डारी(सुर्खेत) र ७ का लागि हेमबिक्रम थापा(कञ्चनपुर) रहेकाछन् ।  

सम्बन्धित प्रदेशका जिल्लाहरुमा कानूनबमोजिम दर्ता भएका उद्योग प्रतिष्ठान÷उद्योगसँग सम्बन्धित संघ र वस्तुगत संघलाई प्रदेश परिसंघमा आवद्धता गराई सम्बन्धित प्रदेश एवं स्थानीय सरकारसँग निजी क्षेत्रको हकहित एवं राष्ट्रको आर्थिक समृद्धिका लागि राम्रो सम्बन्ध र सहकार्य गर्ने मूख्य उद्देश्य प्रदेश परिसंघको भएकाले यसबाट परिसंघको राष्ट्रिय सञ्जाल बिस्तार एवम् निजी क्षेत्रको विकासमा थप सहयोग पुग्ने परिसंघका अधिकारीहरुले बताएका  छन् ।