काठमाण्डौ । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाण्डौ मेडिकल कलेज(केएमसी) मा स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।

सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाण्डौ मेडिकल कलेजलाई पनि समावेश गरेको हो ।

कोषले  सूचना प्रकाशित गर्दै आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ । जसमा काठमाण्डौ मेडिकल कलेज समेत परेको छ।


केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले केएमसीमा सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताए । कोषले जनाए अनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष १ लाख रुपैयाँ तथा घातक रोगको हकमा सेवा अवधिभर १० लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ ।

कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागू हुनेगरी पति/ पत्नीलाई समेत समावेश गरेको छ ।

सूची अनुसार कोषको स्वास्थ्य उपचार योजना अन्तरगतको सेवा पाउने अस्पतालहरुमा केएमसीसँगै बागमती प्रदेशमा ६० वटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेजसहित १६ वटा, मधेश प्रदेशमा नेशनल मेडिकल कलेजसहित नौ वटा छन् । 
 

त्यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १५ वटा, लुम्विनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित आठ वटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालसहित तीन वटा छन् ।