काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना भइरहेका अधिकांश क्षेत्रमा अगाडि देखिएको एमालेले हिमालपारिको जिल्ला मुस्ताङमा लालकिल्ला खडा गरेको छ । २०७० सालको निर्वाचनमा यहाँ कांग्रेसले जित निकालेको थियो। 

उसले यो जिल्लाका प्रतिनिधि र प्रदेशसभातर्फका सबै सिटमा शानदार जित हासिल गरेको हो । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचनले विजयी झण्डा फहराएका छन् । उनले ३ हजार ५ सय ४४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मतमै चित्त बुुझाउनुपर्यो । 

यसैगरी, मुस्ताङको प्रदेशसभा–क मा एमालेकै इन्द्र धारा डादु विष्टले १ हजार १ सय २७ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर बहादुर गुरूङले ६ सय ५७ मतमा चित्त बुुझाउनुपर्यो ।

प्रदेश सभा ख मा पनि एमालेका महेन्द्रप्रसाद थकालीको जित भयो । उनले २ हजार ५ सय ८४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाए ।