काठमाण्डौ । मैनादेवी फाउन्डेसनले शनिबार काठमाण्डौ ट्रयास कलेक्सन रेस २०२२ सम्पन्न गरेको छ। यस कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करिअर पार्ट्नरका रुपमा हातेमालो गरेको थियो।

४०० भन्दा बढी युवाको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडकहुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे। दौडिँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक ५ वटा टिमलाई नगद रु.१० हजार पुरस्कार र पदक प्रदान गरिएको थियो। 

दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए। यसका साथै कुमारी जबले अन्य मनोरन्जात्मक कार्यक्रम पनि गरेको थियो। जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ। 

विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत केही दिनपछि गरिनेछ।

दौडमा सहभागी युवाहरुलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक सन्देश भण्डारीले भने, ‘यस्तो सामाजिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता देखेर मलाई एकदमै खुशी लागेको छ। हामी कुमारी जबमार्फत योग्य र क्षमतावान युवाहरुलाई उचित अवसर प्रदान गर्न सदैव तत्पर छौँ।’

कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, पूर्वएआईजी सर्वेन्द्र खनाल, काठमाण्डौ महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त, पत्रकार राजेन्द्र बाँनिया, कार्टुन्ज क्रुलगायतको उपस्थिति थियो। 

रेसमा १ हजार किलोभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ।