काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैटौँ र सातौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज बिहीबारबाट मोरङ जिल्लाको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौँ शाखारहित बैंकिङ सेवा र लेटाङ–९ मदनचोक को एबी मेडिकल हलमा सातौँ  शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।  

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीप कुमार राईले आरके मोवाइल सर्भिस सेन्टरमा र लेटाङ–९ का वडाअध्यक्ष कृष्ण लुइँटेलले एबी मेडिकल हलमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा सुरु गरेका हुन्। कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुसाल, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।