काठमाण्डौ। कामना सेवा विकास बैंकले आफ्नो ब्रान्ड एम्बेसेडरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ। 

काठमाण्डौस्थित अलोफ्ट होटलमा आज आयोजित एक समारोहमा लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बेसेडर नियुक्त गरेको घोषणा गरिएको हो। 

लामिछानेले बैंकको पारिश्रमिकबापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योति पुर्याउने महान कार्यका लागि छुट्याउने घोषणा गरेका छन्। 

यसैगरी बैंकले नेपालको गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरका रुपमा यसअगाडि गरेको सम्झौतासमेत नवीकरण गरेको छ। 

सम्झौतापश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसारलगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए। 

यसैगरी यूआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले कामना सेवा विकास बैंकलाई आईएसओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरेका छन्। कामना सेवा विकास बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ। यसले कामना सेवा विकास बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेसन र संगठनको सुधारसम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ।

यसका साथै बैंकले ‘हामी सक्षम छौँ’ भन्ने उद्घोसका साथ २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ। बैंकका अध्यक्ष सुदीप आचार्य तथा बैंकका अन्य सञ्चालकहरुले संयुक्त रुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन्।