काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज बुधबारबाट झापाको कमल गापा–७ गेउरियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।  गेउरियाका सन्तोष राईलाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

वडा नं. ७ का वडाध्यक्ष पृथ्वीपति राईले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितिका अध्यक्ष नारायणप्रसाद निरौलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।