काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज जेठ २७ गतेबाट मोरङ जिल्लाको मिक्लाजुङ गापा वडा नं. ३ धोबेनी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  

धोबेनी बजारस्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेशप्रसाद भट्टराई) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। वडाध्यक्ष सन्तोषकुमार थापामगरले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक मात्रिकाप्रसाद न्यौपाने,  टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष सञ्जयकुमार लिम्बुलगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।