काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट मोरङको केराबारी गापा–१० थापाटारमा, सुन्दर हरैंचा नपा–१२ शुक्रबारेमा र झापाको बुद्ध शान्ति गापा–१ नमुनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। थापाटारस्थित केराबारी भ्यु होटल एन्ड बार (प्रो. धनबहादुर लिम्बू), शुक्रबारेस्थित आरजु कस्मेटिक एन्ड रेडिमेड (प्रो. राजन भगत) र नमुनाचोकस्थित बबि सप्लायर्स (प्रो. नन्दकुमार याफु राई)लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

केराबारी–१० का वडाध्यक्ष पूर्णबहादुर मगरले थापटारमा, सुन्दर हरौंचा–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले शुक्रबारेमा र बुद्ध शान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले नमुनाचोकमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवाको शुभारम्भ गरेका थिए। 

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।