काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेले निष्कासनको तयारी गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रको प्रत्याभूतिकर्ताका रुपमा नागरिक लगानी कोष (सीआईटी) नियुक्त भएको छ।

कामना सेवाले १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाइको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। ऋणपत्र प्रत्याभूतिकर्ता सम्झौतापत्रमा कामना सेवाका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र सीआईटीका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्। 

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्कासनको तयारी गर्ने पहिलो विकास बैंक बनेको छ। सीआईटीले पनि ऋणपत्र प्रत्याभूति गरेको यो प्रथम पटक हो।

कामना सेवाले निष्कासनको तयारी गरेको ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर– २०८७’ १० वर्षे अवधिको हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताहरुले अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने बैंकले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि यो निकट भविष्यमै निष्कासन गरिने कामना सेवाले जनाएको छ।