काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। 

पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो। पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अप्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको सुरुआत गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए। 

सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुवा–हजुरआमा, बुवा–आमा, श्रीमान–श्रीमती, दाजु–भाइ, दिदी–बहिनी, छोरा–छोरी तथा नाति–नातिनीले आफ्नो पारिवारिक सम्बन्धभित्र जोकसैलाई पनि उपहारस्वरुप उक्त मुद्दति खाता उपहार गर्न सकिने बैंकले जनाएको छ। 

न्यूनतम रु. १० हजारमा नै खोल्न सकिने मुद्दति खातामा मासिक रुपमा ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ। उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिनेछ। उक्त मुद्दति खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

उपहारको नयाँ परम्पराको सुरुआत गर्नका लागि ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिनेसमेत विशेषता रहेको छ।