काठमाण्डौ । करिब २० वर्षपछि जनताले स्थानीय निकायमा आफ्ना नेता चुुन्ने महापर्वको रौनकले कसलाई नछोएको होला र ? नेतादेखि कार्यकर्तासम्म, किशोरदेखि बूढापाकासम्मलाई चुनावी रौनकले छोएको छ । नयाँ संविधानको कार्यान्वयनको पहिलो चरणको रुपमा समेत लिइएको स्थानीय निकायको निर्वाचनलाई लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण कडीको प्रारम्भिक विन्दूमा रुपमा समेत हेरिएको छ । 

यसरी लोकतन्त्रप्रति आस्था राख्ने सबैका लागि २० वर्षपछि भइरहेको महापर्वले उत्साह ल्याएको छ । तर यो महापर्वमा आफूलाई जनताको असली पहरेदार मान्ने पूर्वराजा ज्ञानेन्द्रले भने सहभागिता र चासो नै दिएका छैनन् । उनी अहिले राजा होइन, पूर्वराजा होइन, यो हिसाबले उनले समेत ब्यालेटप्रतिको विश्वासलाई अझ मजबुत बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा मतदान नै बहिस्कार गरेका छन् । 

उनले शनिवार बेलुकी नै एक ट्वीट गरी आफू मतदानमा सहभागी नहुने प्रष्ट्याएका थिए । उनले देशका सबै दल तथा नागरिक आफ्ना लागि समान रहेको भन्दै आफूलाई राजाकै रुपमा प्रस्तुत गर्न खोजेका छन् । राजाबाट राजनीतिक परिवर्तनले जनतामा झारिसकेको व्यक्तिले राजाको झै सबै समान हुन् भन्दै मतदानमै भाग नलिनुु बुद्धिमता हो कि मूर्खता ? वा, लोकतन्त्रप्रति चरम बेवास्ता तथा संविधानप्रति तीव्र असन्तुष्टि ? 

आफूलाई जनता जनार्दन हुन् भन्ने पक्षको ठान्ने पूर्व राजा ज्ञानेन्द्र शाहले मतदान कार्यक्रम बहिस्कार गर्नुलाई धेरैले उनको मूर्खता र अझै पनि राजा हुँ भन्ने घमण्डको उपज भनेका छन् । तर कतिपयले भने भोट हाल्न नपाउने अधिकार सम्बन्धित व्यक्तिको भएकोले राजाले त्यस्तो अनिच्छा व्यक्त गर्नुलाई स्वभाविक भनेका छन् ।