काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा भिडन्त रोचक बन्दै गएको छ । यो क्रममा पछिल्लो समय वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको गृह प्रदेश, प्रदेश नम्बर १ का ५२ जिल्लानगरका अध्यक्षहरुले चन्द्र ढकालको टिमलाई समर्थन गर्ने घोषणा गरेका छन् । 

केही दिनअघि प्रधान समूहले सो क्षेत्रमा भेला राखी सबै जिल्लानगरका अध्यक्षबाट आफ्नो टिमलाई समर्थन प्राप्त भएको घोषणा गरेको थियो । तर, त्यसको केही दिनमै ढकाल समूहले त्यहाँ चुनावी कार्यक्रम आयोजना गरेको हो, जसमा प्रधान समूहलाई समर्थन गरेका भनिएका उद्योगी व्यवसायीहरुले नै ढकाल समूहलाई साथ दिने घोषणा गरेका छन् । 

प्रदेश १ को राजधानी विराटनगर किशोर प्रधानको गृहनगर पनि हो । तर यसअघिको चुनावमा पनि गृह क्षेत्रबाटै भएको अन्तर्घातका कारण किशोर प्रधानले जिल्लानगर उपाध्यक्षमा हार व्यहोर्नुपरेको थियो । 

ढकाल प्यानललाई १ नम्बर प्रदेशको आयोजनामा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षहरुले उपस्थित भएर समर्थन गरेका हुन् । 

सो कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरुले उपस्थित भएर स्वागत गरेका थिए भने अन्य जिल्ला तथा नगर अध्यक्षहरुले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थनसहितको शुभकामना पठाएका ढकाल समूहले दाबी गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा आयोजना गरिएको सो कार्यक्रम बिहीबार र शुक्रबार गरी २ दिनसम्म चल्ने बताइएको छ । 

कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्यगरी १ सयभन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

पछिल्लो समूह प्रदेश १ र २ मा प्रधान समूहको अवस्था केही राम्रो देखिएको स्रोतहरु बताउँछन् । ढकाल समूह भने तिनै क्षेत्रमा आफ्नो प्रभाव जमाउने रणनीतिका साथ चुनावी अभियानमा सामेल भएको देखिन्छ ।