काठमाण्डौ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर पारेर शुक्रबारदेखि राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा 'नेपाल चेम्बर एक्स्पो' सुरु भएको छ । 

नेपाल चेम्बर अफ कमर्सको आयोजना र जापान सरकारको विशेष सहयोगमा ६० औं वर्षगाँठको अवसर पारी व्यापार मेला आयोजना गरिएको हो । 

शुक्रबार एक समारोहका बीच चेम्बर एक्स्पोको उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गरे । पुनः नेपाल जापानबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षको पुनित अवसरमा व्यापार मेला आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । 

उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने ठानेर आफूहरुले एक्स्पोलाई सहयोग गरेको प्रष्ट्याए । उनले एक्स्पो अवधिमा जापानका विभिन्न उत्पादनका स्टल पनि रहेका र नेपालका उद्योगी व्यवसायीसँग चिनजान हुने, आइडिया आदानप्रदान लगायतको अवसर प्राप्त हुने बताए । 'यो एक्स्पोले ६० वर्षदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउने मेरो विश्वास छ ।' उनले भने-'जापानीहरु नेपालका प्राकृतिक सुन्दरता, नेपालीहरुको हस्पिटालिटीबाट निकै प्रभावित छन् ।' 

सो अवसरमा नेपाल र जापानबीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन विभिन्न क्षेत्रमा रही योगदान पुर्याएका ६ जनालाई सम्मान गरिएको थियो । नेपाल जापान विजिनेश कन्टिव्यूसन अवार्डबाट डिजेमा योसिवनो, नेपाल जापान सोसिओ कन्टीव्यूसन अवार्डबाट इशिओमा हिरोमी, ह्यूमानिटीज अवार्डबाट मिसिहिरो नाकागामा, कर्पोरेट ल कन्टीव्यूसन अवार्डबाट बलराम श्रेष्ठ, कर्पोरेट सोसियल रेसपोन्सीबीलीटी अवार्डबाट अवाई हिडेरो र डिप्लोम्याटिक अवार्डबाट मिसावाकी कोजिमा सम्मानित भएका थिए । 

१० देशका २२० स्टल
असोज ११ गतेसम्म संचालन हुने एक्स्पोमा नेपाल लगायत अन्य ९ देशका मौलिक उत्पादनहरुको स्टल राखिएको छ । विदेशीमा जापानको स्टल ८ वटा छन भने बंगलादेश, ताइवान, मलेशिया, चाइना, पाकिस्तान, कोरिया, भारतका व्यापारीहरुले समेत स्टल राखेका छन् । कुल २ सय २० वटा स्टल रहेका र मेला अवधिभरि २ लाख बढी अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । 

मेलामा जापानको माउण्ट फुजी स्प्रिङ्स, ट्रेड लिंक इन्टरनेशनल, हेरिटेज कार्पेट, प्रभु इन्स्योरेन्स लगायतका संघसंस्थाले सहकार्य गरेका छन् । मेलामा कृषि, हस्तकला, फर्निचर, तयारी पोशाक, निर्माण सामाग्री,  छाला तथा छालाजन्य उत्पादनका साथै सवारी साधन, विद्युतीय सामान, किचन सामाग्री, फेशन, मोबाईल लगायतका स्टलहरु राखिएका छन् ।