काठमाण्डौ । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने अभियानअन्तर्गत ‘गाउँ–गाउँ सहकारी, घर–घर रोजगारी’लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आमजनसमुदायलाई समेटि उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको छ। 

पहिलो चरणमा स्याङ्जा, कास्की र तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालैमात्र स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थाको नाममा आमजनभेलामार्फत तदर्थ समिति गठन गरी स्थानीयस्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाएको छ। 

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित आमजनभेलामा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उप्रमुख, वडाअध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी, कृषक, उद्यमीलगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो। 

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका तर्फबाट समुदायस्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो। प्रशिक्षणको सहजीकरण मुक्तिनाथ विकास बैंकका कर्मचारी सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी भूमिराज भण्डारीले गरेका थिए। 

सहकारी दर्तापश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्नेछ। सहकारीका माध्यमबाट उत्पादकदेखि उपभोक्तासम्मको मूल्य शृंखला निर्धारण गर्ने काम हुनेछ। सहकारीमा आबद्ध सेयर सदस्यहरुलाई आफ्नो परियोजना सञ्चालनका लागि आवश्य पुँजीको व्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारीमार्फत उपलब्ध गराउनेछ। 

कृषकलाई आवश्यक कृषिसम्बन्धी तालिम, प्रशिक्षण, बीउबिजन, विषादीलगायतका उपज र आवश्यक प्रविधिक सामग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारीमार्फत उपलब्ध गराउनेछ। यसका साथै कृषक तथा उद्यमीले उत्पादन गरेका सम्पूर्ण सामग्री सहकारीमार्फत संकलन गरी मुक्तिनाथ कृषि कम्पनीले उपभोक्तासम्म पुर्याउने कामको जिम्मा लिनेछ। 

यस किसिमको कार्य नेपालमै पहिलोपटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गइरहेको हुँदा यसले भविष्यमा कृषि सम्मानित पेसाका रुपमा विकसित भई हरेक घरघरमा रोजगारी सिर्जना हुने र यस पेसामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा कमी आउनुका साथै भविष्यमा आर्थतन्त्रमा नै यसले ठूलो योगदान पुर्याउनेमा आफू ढुक्क रहेको अध्यक्ष ढकालले बताए। 

भेलामा उपस्थित सम्पूर्ण स्थानीय जनप्रतिनिधि तथा व्यक्तिबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखी ल्याइएको यस कामको उच्च प्रशंसा गर्दै यसलाई सफल बनाउन आफ्ना तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता पेस भएको थियो। 

यसका साथै मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।