काठमाण्डौ । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने अभियानअन्तर्गत ‘गाउँगाउँ सहकारी, घरघर रोजगारी’लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आमजनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ। 

यसै सिलसिलामा हालैमात्र नवलपरासी जिल्लाको हुप्सेकोट गापामा स्थानीय समाजसेवी ओम घर्ती मगरको सहजीकरणमा स्थानीय कृषक टोप बहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाउन निर्णय भएको छ। 

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गापाका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी, कृषक, उद्यमीलगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा मुक्तिनाथ विकास बैंकका तर्फबाट समुदायस्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो। प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसिना, अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजीकरण गरेका थिए। 

सहकारी दर्तापश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्नेछ। सहकारीको माध्यमबाट उत्पादकदेखि उपभोक्तासम्मको मूल्य शृंखला निर्धारण गर्ने काम हुनेछ। 

सहकारीमा आबद्ध सेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारीमार्फत उपलब्ध गराउनेछ भने कृषकहरुलाई आवश्यक कृषिसम्बन्धी तालिम, प्रशिक्षण, बिउबिजन, विषादीलगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ। यसका साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरी मुक्तिनाथ कृषि कम्पनीले उपभोक्तासम्म पुर्याउने कामको जिम्मा लिनेछ। 

यस किसिमको कार्य नेपालमै पहिलोपटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गईरहेको हुँदा यसले भविष्यमा कृषि पेसा सम्मानित पेसाका रुपमा विकसित भई हरेक घरघरमा रोजगारी श्रृजना हुने र यस पेसामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा कमी आउनुको साथै भविष्यमा आर्थतन्त्रमा नै यसले ठूलो योगदान पुग्ने कुरामा आफू ढुक्क रहेको अध्यक्ष ढकालले बताए। 

नेपालजस्तो देशका लागि यस सहकारीको अबधारण अत्यन्तै अपरिहार्य भएको र यसले भविष्यमा नेपालको कृषि क्षेत्रमा आमुल परिर्वतन आउने अपेक्षा लिएको कुरा यसै भेलामा विशेष अतिथिका रुपमा उपस्थित सहकारी अभियान्ता मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक तथा मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेले बताए। भेलामा उपस्थित सम्पूर्ण स्थानीय जनप्रतिनिधि तथा स्थानीय व्यक्तिबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखी ल्याइएको यस कामको उच्च प्रशंसा गर्दै यसलाई सफल बनाउन आफ्ना तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता पेस भएको थियो।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।