काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सिद्धार्थनगर शाखाबाट शनिवारका दिन भीम अस्पताल भैरहवाको परिसरमा रहेको एटीएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज विकले संयुक्त रुपमा उद्घाटन गरेकाछन्। 

सोही अस्पतालकी मेसु डा.सकुन्तला गुप्ता, बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, विभागीय प्रमुख निर्मलप्रसाद उपाध्याय, प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थीलगायत सामाजिक व्यक्तित्व, बैंक, अस्पतालका कर्मचारी, ग्राहक र सेवाग्राहीको उपस्थिति थियो । सोही अवसरमा कृषि विकास बैंंकको सिद्धार्थनगर शाखाका प्रबन्धक बाबुराम खत्रीले स्वागत मन्तव्य राखेका थिए। 

कार्यक्रममा भीम अस्पतालकी मेसु डा गुप्ताले आफ्नो मन्तव्यका क्रममा साइकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आय स्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरिद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत डिजिटल एक्स–रे मेसिन हस्तान्तरणले अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको बताइन्। यसका लागि प्रमुख कार्यकारी अधिकृतलगायत कृषि विकास बैंकलाई उनले धन्यवाद दिइन्। 

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका २ वटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटालगायत देशका विभिन्न अस्पतालहरुलाई प्राविधिक तथा भौतिक सहयोगहरु गर्दै आइरहेको बताए। जनतालाई प्रत्यक्ष्य सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको छ र यस्ता कार्यक्रमलाई अगामि दिनमा समेत निरन्तरता दिइने भन्दै उनले बैंकबाट प्रदान गरिएका आधुनिक सेवालाई परिस्कृत गर्ने सन्दर्भमा एटीएम मेसिन, क्यूआर कोड र मोबाइल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको बताए। उनले यी उपकरणलाई पूर्ण उपयोग गर्नका लागि सबैलाई अनुरोधसमेत गरे। साथै, उनले किसानको हितको लागि बैंकले किसान कार्ड ल्याउने तयारीमा रहेको जानकारी गराए। 

कार्यक्रमका प्रमुख अथिति रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एवम् भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य एकराज विकबाट कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई डिजिटल एक्स–रे मेसिन उपलव्ध गराएकोमा धन्यवाद दिए। 

सोही दिन रुपन्देही जिल्लाको शाखा मझगाँवामा समेत एटीएम मेसिनको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए।