काठमाण्डौ । चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा बुधबारबाट बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ। मेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ। 

मेला उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एसिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए। मल्य शृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए। 

‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ। त्यसको प्रमुख कार्यक्रम कृषि छ’, पौडेलले भने, ‘हाम्रो उर्भर जमिन भोलि रहन्छ कि रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो। जुन दिगो विकास हो।’ 

पौडेलले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे। ‘कृषि क्षेत्रको विकासका लागि बैंकहरुले जति प्रभाव पारेको छ, त्यो भन्न सकेको छैनौँ। भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरी अगाडि बढौँ’, उनले भने, ‘बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मूल्य शृंखला निमार्ण गरौँ, बैंकले कृषिमा लगानी गर्छन्।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए। ‘धेरै ठाउँमा जाँदा तपाइँहरु किसानलाई कर्जा दिनुहुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो ? घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ’, शाहले आफ्नो अनुभव सनाउँदै भने। 

‘नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसानसँग पठायौँ, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन्। जो किसान रहेछन्। उनीहरुले पैसा रोपेर केही हँुदैन बीज चाहियो भन्ने रहेछन्’, बैंकर शाहले भने, ‘बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसामात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारीकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो।’ 

शाहले बैंकहरु कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको साँवा र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए। ‘कर्जा दिन बैंक तयार छ तर हाम्रो किसानले कर्जा लिएर ब्याजमात्रै तिर्नेमात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ’, उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौँ। हामी प्रतिबद्धता जनाउँछौँ तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन, लगानी गर्न समस्या हुन्छ।’

‘बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिँदैन कृषि क्षेत्रमा समस्या रहनेछ’, शाहले भने, ‘अब त्यो ‘इको  सिस्टम’ बनाउन बैंकहरु अगाडि बढ्छन्। ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन। तर, हामी साँवा र थारै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहन्छौँ।’