काठमाण्डौ । देशकै चासोको बिषय रहेको काठमाण्डौ महानगरपालिकामा केजरीवालको जन्म होला ? स्थानीय निर्वाचनको पहिलो चरणको मतपरिणामतर्फ ध्यान केन्द्रीत गरिरहेका धेरैमा अहिले यही प्रश्नले घर गरेको छ । 

ठूला भन्ने दलहरुले बेलैमा विचार नपुर्याउने हो भने उनीहरु इतिहास बन्ने र भविष्यमा नाम नसुनिएका तर स्पष्ट भिजन भएका र काम गर्ने क्षमता भएका नयाँ पार्टी तथा युवाहरु राजनीतिको केन्द्र नबन्लान् भन्न सकिन्न । 

काठमाण्डौ महानगरको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयरका उम्मेद्वारले ६७ मत प्राप्त गर्दा साझा पार्टीका किशोर थापाले ५८ मत प्राप्त गरेका छन् । संसदको पहिलो पार्टी कांग्रेसको तर्फबाट मेयरमा उम्मेद्वार राजुराज जोशीले ४७ मत पाएका छन् । अति नै प्रारम्भिक चरणको मतपरिणामलाई आधार मानेर नै कांग्रेसले हार्ने वा साझा पार्टी जित नजिक पुुग्ने विश्लेषण गरिहाल्नु निकै हतारो होला, तर प्रारम्भिक चरणको मतपरिणाममा जुन किसिमको ट्रेण्ड देखिएको छ, यसले काठमाण्डौमा केजरीवालको जन्म संभव छ भन्ने चाहि देखाएको छ । 

काठमाण्डौमा बिल्कुलै नयाँ दल विवेकशीलकी रञ्जु दर्शनाले ३९ मत प्राप्त गरेकी छिन् । यदि साझा पार्टी र विवेकशीलबीच चुनावी तालमेल भएको भए चाहि केजरीवालको जन्म यहीबेला संभव थियो भन्नेहरुको तर्कलाई पनि पूरै नकार्न सकिन्न । 

भ्रष्टाचारविरोधी सामाजिक अभियन्ता केजरीवालले केही वर्षअघि आम आद्मी पार्टी गठन गरी अपत्यारिलो ढंगले दिल्लीको निर्वाचनमा अत्यधिक बहुमतले विजयी भई त्यहाँको मुख्यमन्त्री समेत भएका छन् । उनको अनपेक्षित जितले भारतका छिमेकी देश(जस्तै नेपाल)हरुमा पनि केजरीवाल टे«ण्ड राजनीतिमा जबरजस्त उदाउने प्रयासहरु भइरहेकै छन् । बाबुराम भट्टराईले गठन गरेको नयाँशक्तिलाई नेपालको ‘आम आद्मी पार्टी’ भनिए पनि त्यो गठनको केही महिनामै विवादको भूमरीमा परेर कमजोर साबित भयो । तर, निर्वाचनको केही साताअघि मात्र गठन भएको साझा पार्टीले काठमाण्डौ महानगरपालिकामा लिइरहेको प्रारम्भिक अग्रताले शहरका सचेत नागरिक राजनीतिमा पुरानाबाट दिक्क भइसकेका र नयाँ टेस्ट खोजिरहेका छन् भन्ने चाहि देखाएको छ । उसो भए जनताले खोजिरहेको यो टेस्ट दिनसक्ने ल्याकत कोसँग होला ? अहिलेका लागि भन्न सकिएला साझा पार्टी वा विवेकशील । तर, जनताले खोजिरहेको नयाँ टेस्टका लागि नयाँ सोंच र भिजन भएका युवाहरुको काठमाण्डौ लगायतका शहरी क्षेत्रमा ठूलो संभावना छ भन्ने चाहि देखाएको छ । 

एकातिर काठमाण्डौ महानगरको पछिल्लो मतपरिणामले भिजन भएका नयाँ पार्टी वा शक्तिको उदय संभव छ भन्ने देखाएको छ भने अर्कोतर्फ वर्षौदेखि राज गर्दै आएका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले समेत आफ्नो राजनीतिक शैली र आफ्नै भूमिकामाथि निर्मम समीक्षा गर्नुपर्ने देखिएको छ । ठूलो पार्टीको भएको दम्भ मात्र पालेर जनताको पीरमर्का नबुुझ्ने हो र झूठा आश्वासन मात्र दिने हो भने केजरीवाल प्रवृतिको नेपाली राजनीतिमा जबरजस्त उदय हुने र जनताले पनि त्यस्ता नयाँलाई मात्र पत्याउने अवस्था नआउला भन्न सकिन्न । एउटै प्रवृति, शैली र भिजन नभएका तथा काम नगर्ने पुराना नेता तथा पार्टीबाट युवाहरु दिक्क भइसकेका छन् । ठूला भन्ने दलहरुले बेलैमा विचार नपुर्याउने हो भने उनीहरु इतिहास बन्ने र भविष्यमा नाम नसुनिएका तर स्पष्ट भिजन भएका र काम गर्ने क्षमता भएका नयाँ पार्टी तथा युवाहरु राजनीतिको केन्द्र नबन्लान् भन्न सकिन्न ।