काठमाण्डौ । भारतीय मिडियाहरुमा बज्ने विज्ञापनको प्रभावले नेपालका बालबच्चाहरुले अत्यधिक खोज्ने केही वस्तुहरुमा भएको गम्भीर खेलवाड र अपराधको घटनामा नेपालको एक व्यापारिक घरानाको संलग्नता हुनसक्ने देखिएको छ ।
व्यापारिक समूह विशाल ग्रुप अन्तर्गतको आधिकारिक डिस्ट्रीब्यूटरसँग काम गर्ने एक बितरक कम्पनीले बालबच्चाहरुले खाने उत्पादनहरुको उपभोग म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा बिक्री गर्ने गरेको फेला परेको हो ।
खासगरी नेपाली बच्चाहरुले समेत उपभोग गर्ने बोर्नभिटा, स्निकर्स चकलेट, जूस बनाउन प्रयोग हुने ट्याङ पाउडर, केटाकेटीहरुले पछिल्लोपटक धेरै रुचाएका प्रिङ्गल्स चिप्स, ओरियो बिस्कुट लगायतका उत्पादनहरुको डेट एक्सपायर भए पनि नयाँ लेवल राख्दै बजारमा पठाउने गरिएको भेटिएको हो ।
बिहीबार काठमाण्डौ महानगरपालिका, महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनको क्रममा बालबच्चाको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरी यस्तो अपराधको धन्दा हुने गरेको भेटिएको हो।
सो क्रममा म्याद सकिएका विभिन्न भारतीय उत्पादनहरुमा मेसिनको सहयोगले पुनः उपभोग्य मिति थप्दै गरेको अवस्थामा ९ जनालाई अनुगमन टोलीले पक्राउ गरेको थियो । सो क्रममा विभागले करिब १ करोड रुपैयाँ बराबरको सामान समेत बरामद गरेको छ । नयाँ लेवल लगाउनका लागि काम हुने सो गोप्य गोदाम समेत शिल गरिएको छ ।
विशाल ग्रुपले भारतबाट आयात गर्ने यस्ता उत्पादनहरुको वितरकसँग सोझो सम्बन्ध भएका आयन इन्टरनेशनल नामको समूहका प्रमुख रोशन बात्रासहितका व्यक्तिलाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
पक्राउ परेकामध्ये बात्रा भारतको राजस्थानका नागरिक हुन् । उनले आफ्नी आमा पुष्पादेवी अग्रवालको नाममा आयन इन्टरनेशनल नामको कम्पनी संचालन गरिरहेको अनुसन्धानको क्रममा खुलेको छ । बात्रा बाहेक पक्राउ परेका अन्य नेपाली कामदार रहेका विभागले जनाएको छ ।
नेपालको खाद्य कानूनअनुसार यदि बजारमा पठाइएका कुनै पनि खाद्य वस्तुको उपभोग्य मिति सकिएको छ भने त्यस्ता सामानलाई फिर्ता गरी नष्ट गर्नुपर्छ । फेरि नयाँ लेवल टाँसी बजारमा पठाउनु गैरकानूनी मात्र नभई अमानवीय र मानव स्वास्थ्यमाथिको गम्भीर अपराध भएको विभागका एक अधिकारीले बताए । ‘बच्चाजस्तो जोखिम उमेर समूहकाले बढी रुचाउने वस्तुमै पनि नयाँ स्टिकर राखेर बजारमा पठाउनु गम्भीर अपराध र अमानवीय कार्य हो ।’–ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार आयन इन्टरनेशनलले ठूलो परिमाणमा बोर्नभिटा, स्निकर्स चकलेट, ट्याङ जूस, प्रिङगल्स चकलेट गएको र त्यसरी गएका अधिकांशको वस्तुको उपभोग्य मिति सकिइसकेको देखिएकाले त्यस्ता वस्तुहरु किन्दा ध्यान दिन उपभोक्तालाई आग्रह गरेको छ ।
विशाल ग्रुपले आयात गर्ने माथि उल्लेख गरिएका विभिन्न वस्तुको लोकल वितरक आयन डिस्ट्रीब्यूटर रहेको देखिएको छ । विशाल ग्रुपको आधिकारिक यूनाइटेड डिस्ट्रीब्यूटर र लाइफ केयर इन्टरनेशनलबाट आयनले ती खाद्यवस्तु खरीद गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धामा संलग्न अधिकारीहरुले विशाल ग्रुपको आधिकारिक डिस्ट्रीब्यूटरको संलग्नताबिना आयनले मात्र यो काम गरेको भन्न सकिने अवस्था नरहेको बताए । ‘विशाल ग्रुपको आधिकारिक बितरकसँग नै सम्बन्ध देखिएपछि यसमा सो समूहको संलग्नता पनि नकार्न सकिन्न।’उनले थपे–‘थप अनुसन्धान भइरहेको छ ।’
विशाल ग्रुपले नेपालमा भारत तथा तेश्रो मुलुकबाट महङ्गा चकलेटहरु समेत आयात गर्ने गर्छ । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेट भाषणबाट चकलेटको भन्सारमा छुट दिने घोषणा गरेका थिए । सो घोषण विशाल ग्रुपकै फाइदाका लागि गरिएको भनेर विवादास्पद बन्दै आएका छ।
प्रिंगल्स चिप्स, ट्याङ, स्निकर्स, बोर्नभिटा, हर्लिक्स तथा अन्य विभिन्न ब्राण्ड महंगा चकलेटहरुको नेपालका लागि आयातकर्ता विशाल समूह हो । यूनाइटेड डिष्ट्रीव्यूटर उसको भगिनी संस्था हो । सो भगिनी संस्थासँग सम्बन्ध राख्ने कम्पनी आयन इन्टरनेशनल हो । यसकारण समेत यो गम्भीर अपराधको प्रकरणमा विशाल गु्रपको संलग्नता हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरुले दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago