काठमाण्डौ । कैलाश हेलिकोप्टर सर्भिसेसले आईपीओ ल्याउने भएको छ। 

निजी क्षेत्रको यो हेलिकोप्टर कम्पनी हालै पब्लिक कम्पनी लिमिटेडमा परिणत छ। पब्लिक कम्पनीमा परिणत भएसँगै पुँजीवृद्धि गरी कम्पनीको सेवा अझै विस्तार गर्न आईपीओ ल्याउने तयारी गरेको हो। 

२०७३ साल फागुन १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई प्राइभेट कम्पनीको रुपमा २३ मार्च २०१८ मा सेवा आरम्भ गरी ३ वटा एअरबस एएस३५०बाट सेवा प्रदान गर्दै आएको यो कम्पनीलाई गत असार २४ गतेको निर्णयबाट प्राइभेट कम्पनी ( प्रालि) बाट पब्लिक कम्पनी (लिमिटेड) मा परिणत भएको थियो। गत असार ३१ गतेदेखि कम्पनी ऐन, २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०६० असोज ८ बाट एओसी संोधित भई कैलाश हेलिकोप्टर पब्लिक कम्पनी परिणत भई सेवा आरम्भ गरेको हो। 

पब्लिक कम्पनी भएपछि हेलिकोप्टर थप गर्दै जाने रणनीति कम्पनीले लिएको छ। त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।

उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरुका ५ वर्षमा ५ वटा हेलिकोप्टर हुनैपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था पछ्याउन कम्पनीले पुँजी वृद्धि गर्दै हेलिकोप्टर थप गर्दै जाने निर्णय गरेको छ।

हाल ३ वटा हेलिकोप्टरमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले सन् २०२४ मा एउटा र सन् २०२६ मा एउटा थप गरी सन् २०२६ सम्म ५ हेलिकोप्टर बनाउने योजना बनाएको छ। आईपीओ ल्याउने योजना केही समय लाग्ने कम्पनीले जनाएको छ।