काठमाण्डौ। बैंककमा मुख्यालय रहेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनल नेपालको अग्रणी एयरलाइन जीएसए एजेन्सी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको बजारका लागि आफ्नो जनरल सेल्स एजेन्ट  नियुक्त गरेको छ। उक्त नियुक्ति अगस्ट १ बाट लागू भएको छ।

सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ। यस साझेदारीमार्फत थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाण्डौका लागि उडान पुनः सञ्चालन गर्नेछ। 

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलोपटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ। थाई एयरवेज इन्टरनेसनलले थाइल्यान्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहन्छ।   

थाई एयरवेजका चिफ कमरसियल अफिसर कोराकोट चटासिंघाले थाई एयरवेजको काठमाण्डौ उडान पुनः सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे। उनले भने, ‘थाइल्यान्डभित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुको बढ्दो संख्याका लागिमात्र नभई दुई देशबीचको आर्थिक गतिविधिलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ।’

‘अस्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ। थाई एयरवेजको सञ्चालनमा विगतदेखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुराउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ’, उनले थपे। 

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘हामी थाई एयरवेजको नेपालका लागि जीएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित र सम्मानित भएका छौँ। हाम्रो नियुक्ति सोसाइटी इन्टरनेसनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससहितको स्थिानिय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त छौँ।’