काठमाण्डौ। त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। 

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी ११३ उडान र अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ ११० उडान भएका छन्। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। नेपालमा पर्यटकीय याम सुरु भएको र दसैंलगायत महत्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको संख्या बढेको हो। 

आन्तरिकतर्फ पनि उडान चाप रहेको छ। दैनिक दुईतर्फी ३०० उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ। 

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्।

- RSS