-अनिलकेशरी शाह(प्रमुख कार्यकारी अधिकृत)-नवील बैंक लिमीटेड
नवीलले हालै लञ्च गरेको जेन–एन अकाउण्ट(Nabil Gen-N Account) कस्तो प्रडक्ट हो ?
कोभिड–१९ को प्रकोपका कारण लकडाउन भएपछि सबैले सामाजिक दूरी, हेल्थ सेफ्टी लगायतका मापदण्डमा ध्यान दिनुपर्ने अवस्था आएको छ । यस्तो विषम परिस्थितिका बीच बैंकिङमा पनि कसरी अवसर सिर्जना गर्ने भन्ने विषयमा हामीले लामो समयसम्म विचार विमर्श गर्यौं । पहिला हामीले ‘इ–एट नवील’ भन्ने कर्पोरेट ग्राहक लक्षित बैंकिङ प्रडक्ट लिएर आयौं. । यसले निकै राम्रो रेसपोन्स पायो । कर्पोरेट कस्टूमर त सीमित छन्, यस्तै कुनै प्रडक्ट डिपोजिट कस्टूमरलाई पनि ल्याउनुपर्ने विषयमा हामी एकमत भयौं र प्रडक्टको विषयमा सोच्दा युथहरु अगाडि देखिए । किनभने उनीहरुले नै हो सबैभन्दा पहिला डिजिटल ट्राई गर्ने । जब युवाले ट्राइ गर्छ, ऊमाध्यम त्यो सेवा घर–घरमा पस्छ अनि अरुले पनि प्रयोग गर्न थाल्छन् । युवामा आधारित प्रडक्ट लिएर आउने निश्कर्षसहित हामीले युवालक्षित जेन–एन अकाउण्ट ल्याएका हौं ।
यो अकाउण्टको विशेषता के हो ?
जेन–एनको विशेषता भनेको कोही पनि ग्राहक बैंक आउनै पर्दैन भन्ने हो । घरमै बसेर अकाउण्ट खोल्न सकिन्छ । मेरो छोरीले हिजो घरमै बसेर अकाउण्ट खोलिन् । डकूमेन्ट अनलाइनबाटै अपलोड गरेपछि(डिजिटल केवाइसी भरेपछि) अकाउण्ट खुल्छ । डिपोजिट अकाउण्ट खुल्छ, चलाउने हो भने मोवाइल एपको माध्यमबाट उसले पेमेन्ट पनि गर्न सक्छ । अरु किसिमको डिजिटल कारोबार पनि त्यहीँबाट गर्नसक्छ ।
धेरै युवाहरु अहिले इन्टरनेटमा हुन्छन् । त्यही भएर हामीले यो अकाउण्ट खोल्नेलाई २ जीबी डेटा फ्री पनि दिएका छौं । अकाउण्ट खोल्नेबित्तिकै त्यहाँ उल्लेख ग्राहकको मोवाइल नम्बरमा २ जीबीको डेटा प्याक निःशुल्क उपलब्ध हुन्छ ।
त्यसपछि १३ घातक रोगको बिमा समेत पाइन्छ । दुर्घटना बिमाको सुविधा समेत पाइन्छ । र, बैंकले प्रवाह गर्ने अधिकांश डिजिटल सेवा फ्रि अफ चार्जमा दिन्छौ ।
यो हामीले के गर्न खोजेका हौ त भन्ने कुरा पनि आउला । गाउँका मात्र होइन, शहरकै सबै युवाले बैंक अकाउण्ट खोलिसकेका छैनन् । क्यासबाटै नै चलिरहेको अवस्था छ । युवापिढीमा बचत कल्चर ल्याउनका लागि पनि हामीले जेन–एन अकाउण्ट ल्याएका हौ । खाता खोलिसकेपछि बचतको कल्चर पनि आउँछ । सबै पैसा खर्च गर्नुहुँदैन भन्ने महसुस पनि गराउन सकिन्छ, त्यो पनि डिजीटल्ली । मेरो जेनेरेसन वा मभन्दा अगाडिको जेनेरेसनमा यही काम गर्न खोज्यो भने धेरै गाह्रो हुन्छ ।
घर–घरमा डिजिटल बैंकिङ पुर्याउने पहिलो स्टेपको रुपमा समेत हामीले जेन–एन लञ्च गरेका हौ । घरका छोराछोरी, नाति नातिनीले आफ्नो स्मार्टफोनबाटै जेन–एन खाता खोली बैंकिङ गरिरहेको देखेपछि घरका बुबा, हजूरबुबाको समेत यसमा चासो बढ्छ र ती पुराना पुस्ताहरुलाई पनि हामीले बिस्तारै यो योजनामा समेट्नसक्छौ भन्ने मेरो विश्लेषण हो ।
रेसपोन्स कस्तो छ ?
हामीले जेन–एन लञ्च गरिसकेपछि अहिलेसम्मको रेसपोन्स उत्साहजनक छ । मैले मेरो करिअरमा धेरै कम प्रडक्ट देखेको छु, जसको यति छोटो अवधिमा यति राम्रो रेसपोन्स भएको होस् । जेन–एनका दैनिक सयौ खाता खोलिरहेका छौ । देशभर मात्र होइन, विदेशमा बस्ने नेपालीले समेत यो खाता खोल्न चासो दिइरहेका छन् ।
अहिलेसम्मको कुनै डेटा दिन सकिन्छ ?
अहिले नै भन्दा पनि हामी एक महिना हेरेर भन्न सक्छौ । किनभने त्यसपछि प्रादेशिक डेटा नै उपलब्ध गराउन सकिन्छ । तर, हरेक दिन सयौं खाता खोल्ने क्रम जारी छ । हामी निकै उत्साहित छौ ।
अहिलेका युवाहरु बैंकमा आउने, बस्ने, खाता खोल्नेजस्ता झञ्झटहरु व्यहोर्न चाहदैनन् । आजकाल अधिकांश युवाहरुसँग डकूमेन्टेसन छ, तर लाइनमा बस्दैनन्, बस्नै चाहदैनन् । उनीहरु घरमै बसेर अकाउण्ट खोल्नसक्ने विकल्पको पर्खाईमा थिए, उनीहरुले खोजेकै चिज नवीलले दिएको हो ।
आजसम्म नेपालको बैंकिङ उद्योगसँग सम्बन्धित डिजिटल प्रडक्टहरु त्यति राम्रोसँग पेनिटेसन नभएको चाहि राम्रो प्रडक्ट नबनाएर पनि हो र अर्को समय उपयुक्त नभएर पनि होला । जुन गाउँमा मोटरबाटो नै पुगेको छैन, त्यहाँ गएर ‘हाम्रो अटोलोन छ लिनुस न’ भनेर बेच्न खोजेको जस्तो कुरा भइरहेको थियो । तर, अब परिस्थिति केही फेरिएको छ । मोटरबाटो पुगेको ठाउँमा अटोलोनको सान्दर्भिकता बढेको छ भनेजस्तै डिजीटल जीवनशैलीमा डिजिटल प्रडक्टहरुको सान्दर्भिकता पनि बढ्न थालेको छ । जुन–जुन चिज युवालाई चाहिएको हो, ती कुरा यो अकाउण्टमार्फत दिनका लागि हामी प्रेरित भएका हौ । अहिलेका युवाहरु आफूलाई चाहिएको चिज हो भने गर्छन् नभए गर्दैनन्। यसकारण बैंकिङका लागि युवालाई चाहिएकै चिज हामीले ल्याएका हौ ।
अन्य बैंकले पनि अनलाइन खाता खोल्न सकिने सुविधाहरु दिएका छन् । अरुभन्दा फरक सुविधा र सहजता के छ ?
अरुले पनि अनलाइन खाता खोलिरहेकै छन् । नवीलले पनि अनलाइन खाता खोल्ने सुविधा सुरु गरेको २०११ देखि नै हो । सबैभन्दा पहिला अनलाइन अकाउण्ट खोल्ने सुविधा पनि नवील नै ल्याएको हो । तर, त्यो बेला त्यो प्रडक्टमा न त हामीले धेरै मार्केटिङ गर्यांै, न त कस्टूमरले नै धेरै चासो दिनुभयो ।
कोभिडपछि सबैजना डिजिटल सेवा दिन र लिन केन्द्रीत छन् । अरु बैंकले लिएर आएकोभन्दा हामीमा अनलाइन अकाउण्ट खोल्ने मात्र होइन, एउटा प्याकेजमै सुविधा पनि दिने भन्ने हो । यो चाहि अनलाइनमा अकाउण्ट खोल्नुहोस्, अरु चिज चाहि पुरानो जस्तै यथावत हो भन्ने होइन ।
यो प्रडक्ट डिजाइन गर्दा हामीले धेरै सोचेका छौ, विचार विमर्श र विश्लेषण गरेका छौं । नवील बैंकको स्ट्रेन्थ भनेको के हो ? हामीले खोजी गर्यौं । यसमा धेरै चिज आयो, यसमा हामीले फिल्टर गर्दै लग्यौं, नम्बर वान नवीलमा सुरक्षाका लागि मान्छे आउँछन् भन्ने हाम्रो निश्कर्ष रह्यो । यो बैंकले ३५ वर्षमा यति धेरै विश्वास आर्जन गरेको छ कि यहाँ पैसा राखेपछि मानिस ढुक्क हुन्छ । साँवा सुरक्षित हुन्छ, ब्याज पनि टाइममा आउँछ भन्नेमा सबै ढुक्क हुन्छन् । हाम्रो सन्दर्भमा सुरक्षा नै मुख्य आकर्षण हो । डिजिटलमा जाँदा पनि साइबर थ्रेट हुन्छ, ह्याक हुन्छ पनि भनियो । तर नवीलमा आउनेलाई त्यो डर भएको देखिएन । नवीलले गृहकार्य गरेर मात्र प्रडक्ट ल्याएको हुन्छ, फायरवाल राख्ने लगायतका सुरक्षित हुने काम पनि गरेको हुन्छ भन्ने ढुक्कको विश्वास देखियो ग्राहकमा । नवीलको डिजिटल प्रडक्टमा पनि ग्राहक ढुक्क देखिएका छन् । हामीले लञ्च गरेको कर्पोरेट अकाउण्टमा पनि ग्राहकहरुले हामीले ढुक्कसँग कारोबार गरिरहेका छौ भन्नुभएकोछ ।
हामी कुनै डाक्टरकोमा जान्छौ नि, चिनेजानेको पुरानो कुनै डाक्टरमा गएपछि उसले भनेको औषधि ढुक्क भएर खान्छौ, म ठीक हुन्छु भन्ने विश्वास पनि हुन्छ । तर, नयाँ डाक्टर जति नै राम्रो भए पनि उप्रति सुरुमै विश्वास नहुनसक्छ, हामी ढुक्क नहुन सक्छौ । ठीक यस्तै तरिकाले नवीलका ग्राहक यो बैंकको सेवाप्रति ढुक्क छन् । हाम्रो सेवा र हामीमा पाइने सुरक्षाको विषयमा ग्राहकहरु अति ढुक्क छन् ।
यही विश्वासलाई मध्यनजर गरी हामीले जेन–एन लञ्च गर्यौं । अहिलेका युवा, बुबा, बाजे सबै नवील बैंकसँग ढुक्क हुन्नुहुन्छ । त्यसलाई हामीले डिजिटल्ली ट्रान्सफर्म गर्न खोजेका हौ । हामीसँग वल्र्डक्लास डिजिटल सेवा छ, ढुक्क भएर लिन सक्नुहुन्छ भनेर पनि पनि यो प्रडक्ट ल्याएका हौं ।
कोरोनापछि नेपालको बैंकिङ उद्योगको अवस्था डामाडोल छ भन्नेहरु पनि देखिए । कतिपयले त बैंकहरु अब उठ्नै नसक्ने अवस्थामा पुगे पनि भन्दैछन् । तर, यही कठीन परिस्थितिमा नवील बैंकले चाहि अवसर देख्यो, होइन त ?
निश्चित रुपमा । कोरोना भनेको धेरै कालो बाँदल हो, कुनै पनि बादलको किनारामा सिल्भर लाइनिङ हुन्छ, सिल्भर होइन, गोल्ड पनि होइन, अब यसलाई डायमण्ड लाइनिङ बनाउनुपर्यो भन्ने पक्षको मान्छे हो म । यो गर्नलाई पहिला जे गरिरहेका थियौं, त्यतिले मात्र पुग्दैन, ती कामलाई झनै राम्रोसँग गर्नुपर्छ । यो सँगसँगै कहिल्यै नगरिएका कामहरु पनि हामीले गर्नुपर्छ । त्यही भएर अरुले पनि डिजिटल प्रडक्ट त लिएर आएका छन्, तर हामीले पूर्ण रुपमा फरक ढंगका प्रडक्ट लिएर आउन खोजिरहेका छौ । सुरुवातमा एकदुईवटा टेस्टको रुपमा ल्याएका छौ । त्यसमा इ–एट नवील र जेन–एन आएको छ । यी दुवै प्रडक्टमा सकारात्मक प्रतिक्रिया आएको छ । लकडाउन सकिएपछि यी सबै बन्द हुने भन्ने पनि होइन, अब त हामीले भविष्य नै यसमा देखेका छौ ।
अब नेपाली बैंकको भविष्य भनेको भाडामा घर लिएर शाखा खोल्ने होइन, कसरी हुन्छ डिजिटल्ली जाने हो । नेपालको अधिकांश घरबाट कुनै न कुनै सदस्य विदेशमा जानुभएको छ । त्यो कारणले गर्दा धेरैको हातमा एउटा स्मार्टफोन छ । त्यो स्मार्टफोन बैंकिङका लागि होइन, आफन्त र प्रियजनसँग कुरा गर्नका लागि प्रयोग भइरहेको छ । त्यो फोनबाट उहाँहरुले फेसबुक, भाइबर चलाइरहनुभएको छ । त्यो फोन नै उहाँहरुको बैंक पनि हुनसक्छ, यो चेतना जगाउन आवश्यक छ ।
हामीले यसतर्फ अहिलेसम्म प्रयास नै गरेनौं । १५–२० वर्षअघि कसैको हातमा फोन नै थिएन, त्यतिबेला डिजिटल बैंकिङ लिएर आउनु असान्दर्भिक थियो । अहिले देशमा जति जनता छन्, त्यो भन्दा बढी सीमकार्ड छ । फोन कसरी किनाउने भन्ने समस्या नै छैन । उनीहरुलाई चाहिने हार्डवेयर उनीहरुसँग छ, अब हामीले सफ्टवेयर उपलब्ध गराउन सक्नुपर्छ । उहाँले त्यो फोनमा गेम खेल्ने वा कुरा गर्ने मात्र होइन, बैंकिङ त्यहीबाट गर्नुपर्छ ।
केन्यामा एनपैसा नामको डिजिटल प्ल्याटफर्म रहेछ । एनपैसा चलेको कारण त्यहाँको क्राइम हो, त्यहाँ क्राइमको रेट हाई छ । त्यहाँ लुटपाट धेरै हुने भएकोले फोनबाटै कारोबार गर्दा मानिसहरुले सुरक्षित ठान्छन् । नेपालमा त्यहाँजस्तो क्राइम हुँदैन, तर कोरोना भाइरसको महामारी डिजिटल बैंकिङमा ठूलो छलाङ मार्ने अवसर लिएर आएको छ । त्यो छलाङ मार्छौ मार्दैनौं, त्यसको दायीत्व हामी(बैंकर)मा छ । नवील बैंक चाहि कसरी छलाङ मार्ने भनेर लागेको छ । हामी यो बाटोतर्फ युद्धस्तरमा अगाडि बढ्छौ ।
यूरोप/अमेरिका वा विकसित देशहरुमा बैंकका शाखा हुँदैनन्, तर बैंकिङ हुन्छ । अब नवील त्यही बाटोतर्फ अगाडि बढेको हो भनेर बुझ्दा हुन्छ ?
हो । नवील बैंकले ग्राहकको अधिक विश्वास जित्न सकेको छ । अहिले जसरी ढुक्क भएर फिजिकल बैंकिङ गरिरहनुभएको छ, त्यसैगरी ढुक्क भएर डिजिटल बैंकिङ गर्नुहोस् भन्ने हाम्रो अनुरोध हो । हामी पूरा सुरक्षा नभई केही पनि गर्दैनौ, नयाँ प्रडक्ट ल्याउँदैनौ । आउने दिनहरुमा हाम्रो ग्राहक तपाई बन्नुहोस्, तर हाम्रो ब्राञ्चमा कहिल्यै नआउनुहोस् । हामीलाई सेवा दिने मौका दिनुहोस् । टपअप गर्ने मात्र होइन, सबै चिज फोनबाटै गर्न सकिन्छ । भोलिका दिनमा हामीले जे काम अफिसबाट गरिरहेका छौ, ती सबै काम फोनबाटै गर्न सकिने सुविधा समेत ल्याउने योजना बनाएको छौ । एकपटक फिजिकल डकूमेन्टेसन चाहिएला, त्यो पनि सकेसम्म हामी तपाईकैमा आएर लिन्छौ होला । आज हामीले जुन यात्रा सुरु गरेका छौ, १० वर्षपछि कोही मान्छे मकहाँ आएर(म त्यसबेला रिटायर्ड भएर बुढो भइसकेको हुनेछु) भन्ने छ– ‘तपाई अनिल शाह होइन ? ए हो त नि, नवील बैंकका सीइओ हुँदाखेरि मैले खाता खोलेको थिएँ तपाईकहाँ । आज १० वर्ष भइसक्यो, सबै कुरा म नवील बैंकबाटै लिन्छु, तर एकपटक पनि नवील बैंकको कुनै शाखामा पुग्नुपरेको छैन ।’ यस्तो अवस्था आओस् न कम्तीमा ! अमेरिका र यूरोप किन जाने, चीन र भारतमै हेरौं न, अधिकांश बैंकिङ सेवा लिनलाई ग्राहक बैंकको शाखा पुग्दैनन् ।
म अमेरिकाको एउटा उदाहरण दिन्छु, धेरै वर्षअघि त्यहाँ मेरो भाई छँदा मैले यहाँबाट लगेको ट्राभलर चेक क्यास गर्नलाई एकपटक बैंक जानुपर्ने अवस्था आयो । हामी नजिकैको ब्राञ्चमा गयौं, त्यहाँ टेलर थियो । त्यहाँ अरु कोही पनि थिएन । जुन मान्छेसँग मैले डेस्कमा कुरा गरिरहेको थिएँ, त्यही मान्छेले ‘कम टू दि टेलर’ भनेर आफैं गयो । अनि मैले सोधेँ पनि–म पनि बैंकर हुँ, हाम्रोमा त यस्तो हुँदैन । उसले ‘कोही पनि बैंकमा आउदैनन्, मै गर्छु टेलरको काम पनि’ भन्यो । क्यास डिपोजिट, विथड्र सबै टेलरले गर्छ हाम्रोमा, त्यहाँ त कोही पनि नआउँदो रहेछ । त्यै पनि सबै सेवा सुविधा ग्राहकले त्यहाँ पाउँदा रहेछन्, किनभने त्यहाँ त्यसबेलै सबै फोनबाटै हुने रहेछ । हामी पनि अब त्यतैतर्फ लागिरहेका छौ । ढिलो होला, तर हाम्रो गति तीव्र हुन्छ ।
म त अझ यो चाहन्छु कि कोही अब अमेरिकाबाट आउँदाखेरि वा नेपालमा आएर बैंकिङ गर्दा ‘ओहो यो त हाम्रो अमेरिका भन्दा राम्रो रहेछ त, डिजिटल त यस्तो पनि हुनुपर्छ’ भनोस् न । किनभने हामी जुन बेला इन्टर गरिरहेका छौ, टेक्नोलोजी धेरै अगाडि पुगिसकेको छ । त्यसको फाइदा पनि हामीले भरपूर लिनसक्छौ । मैले अघि पनि भनेँ नि कोरोनाको कालोबादलको डायमण्ड लाइनिङ चाहि डिजिटल बैंकिङ नै हो ।
निश्कर्षमा भन्नुपर्दा अबका दिनमा नेपालमा जहाँ बैंक छैन, त्यहाँ बैंकिङ हुन्छ, अनि त्यहाँ नवीलको ढुक्कको डिजीटल बैंकिङ हुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago