पछिल्लो समय देशको अर्थतन्त्र निकै सुस्त अवस्थामा रहेको छ। व्यापार–व्यवसाय सुस्ताएको छ। मुख्य सहरहरुका सटर बन्द हुने अवस्थामा पुगेका छन्। 

बैंक तथा वित्तीय क्षेत्रमा पैसा प्रशस्त रहेको तथ्यांकबाट भेटिन्छ। विदेशबाट आउने रेमिट्यान्स पनि बढेकै छ। वस्तु आयतका लागि ९–१० महिनालाई पुग्ने डलर सञ्चिति पनि छ। तर, देशमा किन आर्थिक शिथिलता आयो ? किन उद्योगी–व्यापारी सरकारसँग असन्तुष्ट छन् ? घर–जग्गा र सेयर बजारमा मन्दी किन छायो ? 

यिनै विषयलाई लिएर पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग बिजशालाकर्मी अर्जुन तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेपः

अहिले देशमा व्यापार–व्यवसाय सुस्त देखिन्छ। धेरै व्यापारिक सटर बन्द हुँदैछन्।  कसरी आयो यस्तो अवस्था ? के देशमा आर्थिक मन्दी हो ?

– अहिले संसारभर महँगी बढ्यो र क्रयशक्ति घट्दो क्रममा रहेको छ। यो त हामीले अनुभव गरेकै विषय हो। अर्को भनेको उद्योगी–व्यवसायी कर्जाबाटै चलेका हुन्छन्। आंशिक रुपमा केही व्यवसायी विदेशबाट फर्केर व्यापार गर्नेहरु पनि छन्। कतिले गाउँ पनि छोडेर आए। सहरीकरण पनि बढ्यो। सबैले व्यापार गर्छु भन्दा समस्या आएको हो। अहिले रुस र युक्रेनको युद्धले पनि समस्या छ। ग्राहक खासमा युवा हुन्। किनकि युवाले एकैपल्टमा नयाँ मोबाइल वा साधन खरिद गर्छन्। युवाहरु नेपालमा बसेर गुजारा नचलेपछि विदेशतिर लाग्छन्। सरकारले इजरायलबाहेक अन्य देशमा निःशुल्क म्यानपावर पठाउन सकेको छैन। म्यानपावरलाई बुझाएर विदेश गए। अहिले उपभोक्ता विदेश पलायन भए। यसैको असर हो। 

त्यसो भए युवा पलायन हुँदा व्यापार घटेको हो त ? 

– युवा पलायनकै समस्या छ। हाम्रो आन्तरिक उत्पादन छैन। हामीले भारतबाट नै ल्याउनुपर्ने वस्तुमा पनि डलर तिरेर ल्याएका छौँ। त्यसमा भारतबाट आउने ३० प्रतिशत औद्योगिक कच्चा पदार्थ पनि छन्। कति त डलर भुक्तानी तिरेर किनेका पनि छौँ। अमेरिकी डलर बढ्दा त्यसको सीधा असर आयतमा परेको छ। 

उद्योगी–व्यवसायीले यही ब्याजदरमा हामी उद्योग–व्यापार चलाउन सक्दैनौँ भन्छन्। बैंकको ब्याज धेरै भयो भन्ने पनि छ नि ?

– उहाँहरुको समस्या खास के हो भने कोभिडको बेलामा ऋण बढी लानु भएको थियो। त्यसको ब्याज तिर्न सक्नुभएन। त्यसलाई राष्ट्र बैंक र बैंकहरुले क्यापिटलाइज गरे। साँबा ब्याज जोडियो। यसरी कर्जा बढेर गयो। उनीहरुको अपेक्षा के थियो भने उत्पादन तथा व्यापार बढाउन सकिएला भन्ने थियो। तपाइँ पनि विचार गर्नुहोस्, ३–४ वर्षपहिले १४ प्रतिशत ब्याज पनि बढी ब्याज थिएन। एकथरि के पनि भन्छन् भने सरकारले ५ खर्ब रुपैयाँ नयाँ नोट काटेर अर्थतन्त्रमा छरिदियोस्। यसो गरे समस्या समाधान हुन्छ। उद्योगी–व्यापारीले यो मसँग गरेको कुरा हो। मैले भनेँ, ‘ठीक छ, राष्ट्र बैंकले नोट छाप्न सक्छ।’ सरकारले पनि बुद्धि बिग्रेर त्यसै गरेछ भने ६ महिनालाई समाधान होल तर यसको प्रभाव १० वर्षलाई गर्छ। 

उदाहरणका लागि यदि तपाइँको अर्थतन्त्रमा १ लाख टन चामल छ र ५हजार मिटर कपड छ। हामीसँग भएको पैसाले त्यही २ चिजमात्रै किन्छ। अन्य कुरा यथावत रहन्छ भन्ने हो। उत्पादन र आपूर्ति बढाउनु हुन्न। उपभोग जस्ताको तस्तै हुन्छ। सबैको खल्तीमा बढी पैसा भएपछि स्वतः मूल्यवृद्धि हुन्छ। त्यसपछि खर्च बढ्छ, महँगी बढ्छ। त्यो अवस्थामा दोष त सरकार र राष्ट्र बैंकलाई नै जान्छ। यस्तो पहिले पनि भएको थियो। कृत्रिम ढंगले यसो गर्नु ठीक होइन। 

कसैसँग पैसा छ भने राम्रो ब्याज जता पायो त्यतै जान्छ। सञ्चयकर्ताले राम्रो ब्याज नपाउँदा पनि खर्च बढ्छ। उदाहरणका लागि २ भाइ रहेछन्। एक भाइले मोजमस्ती गथ्र्यो र रक्सी खाएर बोतल जम्मा गर्यो भने अर्कोले बचत गथ्र्यो। पछि गएर बचत गर्नेको पैसाको भ्यालु घटेर बोतल बेच्नेको जति पनि भएन। यसले के बुझ्ने हो भने बैंकहरुले बचतकर्ताका लागि गर्ने हो। उनीहरुको आफ्नै पैसा हुँदैन। यो पनि उद्योगी–व्यापारीले विचार गर्नुपर्छ। हाम्रोमा कालोबजारी बढी भएकोले मुद्रास्फीति पनि निश्चित छैन। हाम्रो अर्थतन्त्र अरुमा भरपर्ने भएकोले मूल्यवृद्धि अनुमान गर्न सक्ने अवस्था छैन। त्यही कारण एकल डिजिटमा ब्याज आउन सक्दैन। 

बैंकको बेस रेट किन अपेक्षित रुपमा घट्न सकेन ?

– सरकारले केही बैंकलाई मात्रै स्थानीय तहको पैसा ब्याज नै तिर्न नपर्ने गरिदियो। सबै बैंकको यसमा पहुँच भएन। केहीलाई मात्रै भयो। उनीहरुको मात्रै घट्यो। 

सरकारले कर्जा विस्तार १२ प्रतिशत हाराहारीमा अनुुमान गरेको थियो त्यो पूरा हुने अवस्थामा छ अहिले ? बैंकहरुमा मानिस किन कर्जा लिन गएका छैनन् ?

– यसको मुख्य कारण व्यापारीको व्यवसाय राम्रोसँग हुन सकेको नै छैनन्। एउटा भनेको बैंकहरुको कर्जा विस्तार नहुनुका कारण व्यवसाय नै राम्रोसँग चल्न सकेनन्। हाम्रो अर्थतन्त्र आयातीत भयो। उत्पादित भएन। बैंकहरुको आशय कर्जा उत्पादन र रोजगारी बढेस् भन्ने हो। दोस्रो भनेको ब्याज पक्कै घट्दैछ भनेर कर्जा लिन आनाकानी गरेका पनि हुन सक्छन्। कर्जा लिने भनेको स्टिल उद्योगले पनि हो। अन्तर्राष्ट्रिय परिस्थितिले पनि होला। पहिलेको कर्जा राम्रोसँग नउठ्दा पनि कर्जा विस्तार हुन सकेन। 

रियल स्टेट र सेयर बजार नचल्दा अर्थतन्त्रको रक्तसञ्चार नै बन्द भयो पनि भनेको सुनिन्छ। खासमा के हो ?

– यसमा म सहमत हुन सक्दिनँ। तपाइँलाई म सच्चाउन चाहन्छु, हेर्नुहोस्। हाम्रो अर्थतन्त्रमा कृषि र उद्योगको पनि राम्रै योगदान छ। जलविद्युतको पनि ठीकै योगदान छ। अहिले रियल स्टेटमा व्यापार गर्नु अर्थतन्त्रलाई उपयुक्त होइन। सेयर बजार पनि रियल सेक्टर आएको छैन। सेयर बजार विस्तार हुनु राम्रो हो। मेरो बुझाइमा सेयर बजार विस्तार हुँदा सिकार (सोझासाझा फस्नु) पनि बढ्यो भन्ने हो। ठूला बिजनेस हाउसहरु पनि खासै आउन सकेका छैनन्। यसबाट कर त आउला। केही कारोबारीलाई फाइदा होला। सेयर बजारमा किनेर सेयर होल्ड गर्नु यसको धर्म हो। सेयर बजारमा धेरैले नजरअन्दाज गरेको विषय के हो भने लगानीकर्ताले मैले केमा लगानी गर्दै छु ? भन्ने पूरापूर ज्ञान हुन आवश्यक छ। बुझेरभन्दा पनि अरुको देखासिकीमा लाग्दा धेरै क्षति हुन्छ। 

सेयर बजार एकदमै अनुमान गर्न कठिन ठाउँ हो। अहिले १८०० को विन्दुमा स्थिर होला भनेर लगानीकर्ता आकाशको तारा गनेर बसेका छन्। यो भनेको सरकारले सहज नीति लेला भन्ने हो। सरकारले रियल स्टेट र सेयर बजारलाई खुकुलो बनाइदेला भन्ने लगानीकर्ताको बुझाइ हुन्छ। ब्रोकर कमिसन पनि घटेको छ। जसले जे व्यवसाय गरेको छ, त्यो निर्वाध रुपमा अगाडि बढ्ने वातावरण बन्यो भने अर्थतन्त्रलाई सहज त होला। कर पनि आउँछ तर दीर्घकालमा यसले अर्थतन्त्रमा सहयोग गर्छजस्तो मलाई लाग्दैन। बजार विस्तार हुँदा सिकार पनि बढ्यो। 

पुँजीबजार धेरै घट्यो। सरकारले केही गर्न सक्छ ?

सबैभन्दा पहिले रियल सेक्टर ल्याउन सरकारले नीति बनाउनुपर्यो। पुँजीबजारमा स्पेकुलेटिभभन्दा पनि रिटर्नमा आधारित हुनुपर्यो। हाम्रोमा कमोडिटी बजार पनि विकल्पका रुपमा आउनु पर्यो। एक क्षेत्रमा भन्दा पनि लगानी विविधीकरण हुनुपर्यो। बैंकबाट भन्दा पनि अन्य ठाउँबाट पनि कर्जा लिने व्यवस्था हुनुपर्छ। यो धेरै उतार–चढाव भयो भने नोक्सानी पनि हुन्छ भन्ने मेरो बुझाइ हो।