-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अवको केहि दिनमा चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्दैछ । लगानीकर्ताहरुले राष्ट्र बैंकबाट लचिलो म्रौद्रिक समीक्षाको अपेक्षा गरेका छन् ।मुलुकमा अहिले आर्थिक चलायमानको अवस्था देखिदैन । मुलुकको प्रमुख केन्द्र राजधानीमा नै व्यापार व्यवसाय बन्द हुँदै गएका छन् । व्यापारिक सटरहरु पनि बन्द हुँदै गएका छन् । ब्याजदर पनि अपेक्षित रुपमा घट्न सकेको छैन । बैंक तथा वित्तीय क्षेत्रमा पैसा प्रशस्त रहेको तथ्यांकमा भेटिन्छ। विदेशबाट आउने रेमिट्यान्स पनि बढेकै छ। वस्तु आयातका लागि करिब १२ महिनालाई पुग्ने डलर सञ्चिति पनि छ। तर, देशमा किन आर्थिक शिथिलता आयो त ? किन उद्योगी–व्यापारी सरकारसँग असन्तुष्ट छन् ? घर–जग्गा र सेयर बजारमा मन्दी किन छायो ?  यसै विषयलाई लिएर बीजशाला ले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवि नेपाल लाई केही जिज्ञासा राखेको छ । प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश ।
देशको अहिलेको आर्थिक अवस्था कस्तो छ ? बताइदिनुस न ।
अहिले बाह्य क्षेत्र त मज्बुत नै छ । ढुकुटीमा १ हजार ६०० अर्ब रुपियाँ सञ्चित रहेको अवस्था छ ।  रेमिट्यान्स पनि आइरहेको छ । तर समस्या के छ भने आन्तरिक अर्थतन्त्र खासै चलयमान हुन सकेन। जसले गर्दा रोजगारी सृजना पनि हुन सकेन, भएका रोजगारी पनि गुम्दै गए, निम्न  क्षमतामा  उद्योग व्यवसाय चलिरहेको अवस्था छ, चलेका पनि बन्द हुने अवस्थामा छन् । साना तथा घरेलु उद्योगहरु त बन्द नै भइसकेको अवस्था छ ।यी र यस्ता कारणले आन्तरिक रुपमा अर्थतन्त्र चलायमान हुन नसकेको हो । बैंक तथा वित्तीय क्षेत्रमा ५०० अर्ब रुपियाँ रहेको छ । आयातको लागि  १२ महिनालाई पुग्ने पैसा छ । तैपनि आन्तरिक अर्थतन्त्र राम्रोसँग चल्न सेकेको छैन । यो दुखद पक्ष हो ।
त्यसो भए देशमा आर्थिक मन्दी नै हो  ?
यसलाई आर्थिक मन्दी नै भन्न सकिन्छ  । किन भने उद्योग व्यवसाय सहज रुपमा चल्न सकेनन्, चलेका पनि बन्द हुँदै गएका छन्  । मन्दीको लक्षण भनेको माग कम हुँदै जानु र बजारमा सप्लाई पनि कम हुनु हो  । सप्लाइ कम भएपछि स्वभाविक  रुपमा राजस्व कम उठ्ने नै भयो । त्यसैले  करिब करिब यो मन्दीकै अवस्था हो । यो अवस्थाको अर्थतन्त्रलाई उँभो लगाउन सरकार र केन्द्रीय बैंकले एकापसमा समन्वय गरेर केहि आर्थिक सुधारका प्याकेज ल्याउनु पर्छ । नीतिगत सुधार गर्ने पहल त सरकारले नै गर्नुपर्छ । सरकार र केन्द्रीय बैंक मिलेर व्यवसाय उत्थान कोष  ल्याउनुपर्छ । यो बारे त खास गरि केन्द्रीय बैंकलाई नै थाहा हुन्छ । जुन क्षेत्रमा मार परेको छ, त्यसलाई केही समयको लागि राहत दिनुपर्छ । त्यो कोषले केहि साना तथा मझौला, सेवा क्षेत्र, उद्योग, कृषिजस्ता क्षेत्रको उत्थानमा सहयोग गर्नुपर्दछ । यसमा अब ढिला गर्नुहुँदैन । अहिले त पोल्ट्रि व्यवसायमा संकट छ भन्न थालिएको छ । यो र यी क्षेत्रलाई केहि समय ब्याजमा अनुदान दिन सकिन्छ । यसले माग सृजना हुन्छ । जसले अर्थतन्त्र चलायमान पनि बनाउँछ । संधैजसो दसैंदेखि तिहारसम्म अर्थतन्त्र सुधार हुन्छ । यो राजस्व उठ्ने समय पनि हो । अर्थतन्त्रलाई छिटो लयमा फर्काउने हो भने मैले बारम्बार सरकार अनि केन्द्रीय बैंकलाई विगत एक वर्षदेखि सुझाव दिंदै आएको पनि छु । होइन भने सरकारको राजस्वमा अप्रत्यासित कमी आउँछ । अनौपचािरक अर्थतन्त्र मौलाएको अवस्था छ । यसलाई कुनै पनि हालतमा बढ्न दिनु हुन्न ।  देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने विषय  नै अहिलको मूख्य चासोको विषय हो । जसको लागि व्यवसाय उत्थान कोष अपरिहार्य छ । यसले बजारमा माग सृजना भएर अर्थतन्त्र चलायमान हुन मद्धत गर्दछ । 
अहिले मुलुकमा किन कर्जा विस्तार हुन सकेको छैन ?
व्यापारी तथा  व्यवसायीको आत्मबल गिरेको कारण कर्जा विस्तार हुन नसकेको हो । यो सबैलाई थाहा नै छ । यो  त सबै सरकारको नीतिको कारणले भएको हो । भूतप्रभावि कर नीतिले पनि व्यवसायी डराएका छन् ।यसले जो कोहिमा पनि नेपालमा अब केहि गर्न सकिदैन भन्ने अवस्था सृजना गराएको छ । यसलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ । त्यसैले मैले प्याकेजमा जोड दिएको हो । 
पूँजीबजार अहिले २७ महिनादेखि निरन्तर रुपमा ओरालो लागेको लाग्यै छ । तपाईं त नेपाल धितोपत्र बोर्डको अध्यक्ष पनि भइसक्नु भएको छ । पूँजीबजारमा देखिएको मुलभूत समस्या के के हुन् ? 
हामी सबैलाई थाहै छ । कर्जाको ब्याज सस्तो हुँदा बजार बढ्छ भने कर्जाको ब्याज महँगो हुँदा बजार घट्ने  गर्छ । अहिले पैसा हुँदा पनि बजार बढ्न सकेको छैन । यसको अर्थ सेयर बजारमा नीतिगत सुधार आवश्यक छ भन्ने हो । यसको लागि सरकार, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्ज मिलेर काम गुर्नु पर्ने हुन्छ । पूँजीबजार निक्कै सेन्सेटिभ क्षेत्र हो ।  यहाँ सानो सानो विषयले पनि प्रभाव पारि राखेको हुन्छ । नयाँ स्टक एक्सचेञ्ज पनि आउने विषयले चर्चा पाएको छ । लगानीकर्ताहरु अन्योलमा रहँदा बजार बढ्न नसकेको हो ।
धेरैले पूँजीबजार घट्नुमा राष्ट्र बैंकलाई दोष दिइरहेका छन् । तपाईंको राष्ट्र बैकमा पनि राम्रो अनुभव छ ।  खास कुरा के हो ?
पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्ड नै हो । पूँजीबजारमा ७० प्रतिशत बैंक तथा वित्तीय क्षेत्रको प्रभुत्व छ । त्यसैले यसको कारोबार हुँदा  राष्ट्र बैंकको नीतिले असर गरेको भन्ने छ । त्यसैले केन्द्रीय बैंक र धितोपत्र बोर्डले समन्वय गरेर नै काम गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ । तर यो कतिसम्म सम्भब छ त भन्ने पनि होला । 
घरजग्गा र पूँजीबजार अर्थतन्त्रको रक्तसञ्चार पनि हो भनिन्छ । के यो नचल्दा अर्थतन्त्र समस्यामा परेकै हो त ?
संसारमा नै हुने नै यहि हो । रियल स्टेट (घरजग्गा ) एक्दमै छिटो बढ्छ । पूँजीबजारमा पनि हुने त्यहि नै हो । यी क्षेत्रमा सर्वसाधारणको मनोबलको  विषय पनि रहेको हुन्छ । अहिलेको कुरा गर्दा सर्वसाधारणले मनोबल गुमाएको अवस्था चाहिं पक्कै हो । 
अन्त्यमा, त्यसो भए सरकारले के गर्नुपर्ला त ?
यसमा सरकारले ध्यान दिएको जस्तो म देख्दिन । सरकार यसका लागि पूर्णरुपमा दोषि छ । सरकारले यसमा केही नीतिगत सुधार गरिहाल्न आवश्यक छ ।