काठमाण्डौ । सरकारले आइतबार साँझ घोषणा गरेको कोरोना कोषमा चर्चित उद्योगी तथा साहित्यकार बसन्त चौधरीले रु. १ करोड बराबरको सहयोगको घोषणा गरेका छन् । 

चौधरीले सोमबार एक ट्वीट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा बसन्त चौधरी फाउण्डेसनको तर्फबाट रु. १ करोड सहयोग गर्ने घोषणा गरेका हुन् । 

सहयोग गर्ने भनी घोषित रु. १ करोडमध्ये रु. ५० लाख नगद सहयोग र थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने समेत चौधरीले स्पष्ट पारेका छन् । 

सरकारले स्थापना गरेको कोषमा मन्त्रीहरुले एक महिना बराबरको तलब योगदान गर्ने घोषणा गरिसकेका छन् । 

यो कोषमा एनआरएनएको तर्फबाट १ करोड रुपैयाँको सहयोग घोषणा भइसकेको छ भने नेपाल बैंकले समेत १ करोड रुपैयाँ सहयोगको घोषणा गरिसकेको छ । 

कोषमा अरुले पनि योगदान गर्न सक्ने सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले प्रष्ट पारेका छन् ।