काठमाण्डौ । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ। 

६ दिनसम्म सञ्चालन हुने मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ। हालै काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो। 

सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो। विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौमा मात्र हुने भएको छ। 

विगतका वर्षमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालामा प्रदर्शनीप्रति उत्साह देखिएको छ। आयोजनाले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ। 

ब्रान्डिङ खण्डमा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ। फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित संस्थाहरुको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादनहरु रहनेछन। स्टार्टअप र इन्नोभेसन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने छन्। 

इन्नोभेसनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिसकिएको छ। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवर्द्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेसनलाई पिशेष प्राथमिकतामा राखेको हो। 

सूचनाप्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्नु, तिनको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लन्चिङ खण्डमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्। 

यसबाहेक क्यान इन्फोटेकमा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायतका कुराहरु रहनुका साथै व्यवसायीहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम सोल्युसन, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनी तथा बिक्रीमा राखिनेछन्। 

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहनेछन्। 

प्रदर्शनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास लिइएको छ। ‘यसका साथै महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा सञ्चार प्रविधिको अपरिहार्यताले सम्वन्धित सम्पूर्ण सरोकारवालालाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौँ। त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ’, आयोजनाले भनेको छ। 

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुन सक्ने गरी caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको व्यवस्था हुन गइरहेको छ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्ड जस्तैः ब्रान्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेसन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लन्चिङ र ई–गभर्नेन्स मुख्य हुनेछन्। 

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ। यसपटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ। जसमा प्रवेश शुल्क जम्मा रु. १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ।