काठमाण्डौ । क्यूएफएक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ। 

उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकले क्यूएफएक्सको एप वा वेबका साथै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन्। यो खल्तीका ग्राहकका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको छ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेब साइट लगइन गरी वा  क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारीपश्चात क्यूएफएक्सका ग्राहक र खल्ती प्रयोगकर्ताले सीधै खल्ती एपमार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्। यसका साथै क्यूएफएक्सको एप वा वेबबाट पनि टिकट खरिद गरी खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ।

भाद्र १ गतेदेखि लागू भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहक र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट् र खल्ती पोइन्टस् पनि प्राप्त गर्नेछन्।

यस सहकार्यपछि खल्तीले आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको preferred payment partner हुनुका साथै क्यूआर प्लेसमेन्ट र अन्य अनस्क्रिन र अफस्क्रिन ब्रान्डिङ र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ।

खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरेपश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सीधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

यो सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीका रुपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेको छौं। मनोरञ्जन क्षेत्रमा पनि क्यूएफएक्सजस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। खल्ती र क्यूएफएक्सबीचको यस साझेदारीले मुभी टिकट खरिद प्रक्रियालाई अझै सहज बनाउने र यसले चलचित्रप्रेमीमाझ निकै हर्ष छाउने आशा राख्दछौँ।’

यो सेवाका बारेमा बोल्दै क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन्, ‘क्यूएफएक्सले सधैँ ग्राहकको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको छ, हामी आशा गर्छौं कि खल्तीसँगको यस सहकार्यले हाम्रा सिनेमाप्रेमी ग्राहकलाई थप सुविधा दिनेछ।’ 

क्यूएफएक्स सिनेमा टिम क्वेष्ट प्रालिद्वारा सञ्चालित ब्रान्ड हो। जसअन्तर्गत हाल नेपालभरि ११ स्थानहरुमा (सिभलि मल, लिम्बा मल, छाया सेन्टर, भाटभटेन भक्तापुर, दरबार सिनेमाज, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेशवरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल, एपेक्स मल दमौली) फ्रेन्चाइज मोडलमा सञ्चालित भएका छन् र छिट्टै स्काईलाईन मल वीरगन्जमा सञ्चालनमा आउनेछ। उच्चस्तरीय प्राविधिक र भौतिक संरचनासहित विश्वस्तरीय सिनेमा हलको अनुभव दिने क्यूएफएक्स सिनेमामा विस्तारित फुड एन्ड बेभरेट मेनी र प्रिमियम सिट्सको पनि अनुभव गर्न सकिन्छ।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिँदै आएको छ।