काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ। यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ।

हस्ताक्षर समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी छौँ। बजाज पल्सरलाई नेपाली युवाहरुले सधैँ माया गर्नुभएको छ र पछिल्ला वर्षहरुमा क्रिकेट नेपाली युवाको प्यासन बनेको छ। तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैँ प्रवर्द्धधन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरु उत्पादन गर्न मद्दत गर्नेछ। बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध छ र रहिरहनेछ।’

त्यस्तै पूर्वकप्तान पारस खड्काले भने, ‘बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ। यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ।’

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरुलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो। जसले घरेलु खेलाडीहरु विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ। 

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरुबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन्।