काठमाण्डौ । खल्तीले प्लस २ कलेजहरुको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ। यस प्लेटफर्मबाट एसईई उत्तीर्ण विद्यार्थीले एकैपटक ५० बढी कलेजमा आवेदन दिन सक्नेछन्। यससँगै प्रवेशिकामार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको १००% छात्रवृत्ति पनि उपलब्ध  हुनेछ।

प्रवेशिकामार्फत हालै काठमाण्डौ उपत्यका रहेका कलेजका लागि एकैठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीका रुपमा काम गर्दछ। यो प्रयोगकर्ता–अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षलाई सजिलो बनाउँछ। अहिले प्रवेशिकाले काठमाडौं उपत्यकाभित्र रहेका ५० बढीभन्दा बढी कलेजहरुको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यकाबाहिरका कलेजहरु पनि उपलब्ध गराउने उद्देश्य राखेको छ। 

यसैबीच यस प्लेटफर्मका साथ कलेजहरुले भौतिक फारमहरु संकलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने विद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६० बढी कलेजमध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरी आवेदन दिँदै भर्ना प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

प्रवेशिकाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्छन्, ‘शिक्षा क्षेत्रलाई पनि डिजिटलाइज गर्ने लक्ष्यका साथ एसईई उत्तीर्ण विद्यार्थीको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्यायिएको हो। प्रवेशिकाको उपयोग गर्दै अहिलेका पुस्ताले डिजिटल सेवाप्रति परिचित र प्रोत्साहित हुनेमा हामी विश्वस्त छौँ। आउँदो दिनमा हामी प्रवेशिकालाई कलेज स्तरमा पनि विस्तार गर्दै लैजाने लक्ष्यका साथ अघि बढिरहेका छौँ।’ 

विद्यार्थीले pravesika.com मा गएर कलेज भर्नाका लागि आवेदन दिन सक्नेछन्। आवेदकमध्ये ५ भाग्यशाली विजेताले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेजजस्ता प्रसिद्ध कलेजहरुमा १००% छात्रवृत्तिको मौका पाउनेछन्।

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।