काठमाण्डौ । खल्ती प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसनबीच (एनईसीए) ई–स्पोर्ट्सको पहुँच विस्तारका लागि साझेदारी सम्पन्न भएको छ। 

यस साझेदारीले ई–स्पोर्ट्स क्षेत्रमा हुने टुर्नामेन्ट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट ई–स्पोर्ट्सको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसका साथै खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भूमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ। 

नेपाल ई–स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो। जसले समान पहुँचको सुनिश्चितता गरी ई–स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलका रुपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ। यसबाहेक खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको ई–स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेसन र प्रवर्द्धनका लागि नेपाल ई–स्पोर्ट्स एसोसिएसन (एनईएसए) सँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। यसबाहेक हामी नेपालका गेमरहरुका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ।’

यसैबीच नेपाल ई–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने, ‘नेपालमा ई–स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरुको समर्थनले ई–स्पोर्ट्सहरुलाई नयाँ उचाइमा पुर्याउनेछ।’ 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाखभन्दा बढी प्रयोगकर्ता, ८५ हजारभन्दा बढी एजेन्ट, ६५ हजारभन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार १०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवार बनेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराउँदै आएको छ।