काठमाण्डौ । आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले खानेपानी क्षेत्रलार्ई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका छन्। 

यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याई व्यवस्थापन गरिरहेका साम्पाङ खानेपानी बोर्ड तथा समितिहरुलाई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका हुन्। यसै क्रममा धरान खानेपानी ब्यबस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरुलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजिजबीच बोर्डलाई अटोमेसनमा लैजान सम्झौता भएको छ। सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका छन्। 

सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा ब्यबस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरी पूर्ण अटोमेसनमा लगिनेछ। उपभोक्ताले खानेपानीको महसुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङले यसअघि नै उद्घाटन गरेका थिए। उनले ग्राहक उपभोक्तालाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेसनमा लैजाने बताए। 

यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताए। 

हालसम्म करिब ८०० वटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो। स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको हो। 

करिब १० वर्षअगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्ल्यू (पानी चुवाहट विश्लेषण ) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेसन, इलेक्ट्रो म्याग्नेटिक पm्लोमिटर, ट्यांकीको पानी तह मापन प्रविधिजस्ता प्रणालीहरुको विकास गरेको छ। यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।